• २०८३ साउन ३१ गते आइतवार

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

साउज ३१, काठमाडौँ ।  यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च निर्भरता देखिएको छ । कम्पनीले विभिन्न प्रकारका मदिराजन्य उत्पादन गर्दै आए पनि ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ भोड्काले कुल आम्दानीको अधिकांश हिस्सा ओगटेका छन् । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो ९ महीनामा यी तीन उत्पादनबाट मात्रै कम्पनीले कुल आम्दानीको करीब ९१ प्रतिशत हिस्सा प्राप्त गरेको छ ।

नेपालको घरेलु मदिरा उद्योगमा स्थापित कम्पनीका रूपमा रहेको यती डिस्टिलरीले ह्विस्की, भोड्का, जिनलगायत विभिन्न श्रेणीका मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीका प्रमुख दुई ब्रान्ड ‘ओल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्काले आ–आफ्नो बजारमा बलियो उपस्थिति कायम गरेका छन् ।

ब्रान्डको बजार पहुँच र ग्राहकबीचको पहिचान कम्पनीको वित्तीय अवस्थाका लागि सकारात्मक पक्ष रहेको इक्रा नेपालको मूल्यांकन छ । तर आम्दानीको ठूलो हिस्सा केही सीमित उत्पादनमा केन्द्रित हुँदा कम्पनीको व्यवसायिक जोखिमसमेत बढेको छ । मदिरा बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा प्रमुख ब्रान्डको बिक्रीमा कमी आएमा त्यसको प्रत्यक्ष प्रभाव कम्पनीको समग्र आम्दानी र नाफामा पर्न सक्ने इक्रा नेपालले औंल्याएको छ ।

कम्पनीले ६–७ प्रकारका मदिराजन्य ब्रान्ड उत्पादन गरे पनि पछिल्ला तीन वर्षदेखि प्रमुख उत्पादनको आम्दानीमा योगदान ९० प्रतिशतभन्दा माथि रहँदै आएको छ । यद्यपि पछिल्लो समय कम्पनीको नाफा मार्जिनमा सुधार आएको छ ।

आर्थिक वर्ष २०२४ मा करीब २२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा २८ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०२६ मा यो थप बढेर करीब ३० प्रतिशत पुगेको इक्रा नेपालले जनाएको छ । कम्पनीले उत्पादनको मूल्य पुनर्निर्धारण गरेपछि नाफा मार्जिन सुधारमा सहयोग पुगेको बताइएको छ ।

कम्पनीको सञ्चालन आम्दानी भने आर्थिक वर्ष २०२५ को तुलनामा २०२६ मा सामान्य घटेको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९१ करोड ८० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२६ मा ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा सामान्य कमी आए पनि नाफा मार्जिनमा सुधार र कर्जा दायित्व घटेका कारण कम्पनीको समग्र वित्तीय प्रोफाइल बलियो रहेको इक्रा नेपालको निष्कर्ष छ ।

कम्पनीको कुल ऋण तथा मूर्त नेटवर्थको अनुपात आर्थिक वर्ष २०२६ मा करीब ०.६ गुणामा झरेको छ । आर्थिक वर्ष २०२४ मा यस्तो अनुपात १.४ गुणा थियो । त्यस्तै ऋण सेवा कभरेज अनुपात ५.५ गुणा पुगेको छ । पछिल्ला वर्षमा लाभांश वितरण घटाएका कारण कम्पनीको ब्यालेन्ससिटमा तरलता सुधार भएको समेत इक्रा नेपालले जनाएको छ ।

तर कम्पनीको कार्यशील पुँजीमा उच्च निर्भरता भने चुनौतीकै रूपमा रहेको छ । आर्थिक वर्ष २०२६ मा खुद कार्यशील पुँजी तथा सञ्चालन आम्दानीको अनुपात करीब ३१ प्रतिशत रहेको छ । विशेषगरी पुरानो ह्विस्की उत्पादनका लागि लामो समयसम्म मौज्दात राख्नुपर्ने र ग्राहकलाई उधारोमा बिक्री गर्दा प्राप्ति अवधि लामो हुने भएकाले कार्यशील पुँजीको आवश्यकता बढेको हो ।

यसैगरी कच्चा पदार्थ आयातमा विदेशी मुद्रामा हुने भुक्तानीका कारण कम्पनी विदेशी विनिमय जोखिममा समेत रहेको छ । लामो अवधिका उसान्स एलसीमार्फत हुने आयातका कारण आर्थिक वर्ष २०२६ मा विदेशी मुद्रा नोक्सानी कम्पनीको आम्दानीको करीब ६ प्रतिशत बराबर पुगेको छ । पुराना एलसीको भुक्तानीका क्रममा थप नगद बहिर्गमन भएमा कम्पनीको तरलतामा दबाब पर्न सक्ने जोखिम रहेको छ ।

नेपालमा मदिराजन्य उत्पादनमा उच्च कर तथा अन्तःशुल्क कायम रहनु र आयातित मदिरामा उच्च भन्सार दर हुनु भने घरेलु उत्पादकका लागि संरक्षणको पक्ष बनेको छ । तर आगामी दिनमा आयात शुल्क घटेमा, अन्तःशुल्क थप बढेमा वा मदिराको बिक्री तथा प्रवद्र्धनमा थप नियामकीय कडाइ भएमा कम्पनीको आम्दानी र नाफामा दबाब पर्न सक्ने इक्रा नेपालको आकलन छ ।

आगामी दिनमा आम्दानी तथा नाफाको सुधार कायम राख्दै ऋण सेवा क्षमता बलियो बनाउने र विदेशी मुद्रा दायित्व व्यवस्थापन गर्ने क्षमता कम्पनीको मुख्य मूल्यांकनको विषय रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस