• २०८३ कार्तिक २१ गते शुक्रवार

सुदूरपश्चिमका १० ओलम्पियन खेलाडी नगदसहित सम्मानित

लोकराज जोशी पढ्न लाग्ने समय : २ मिनेट

असार २१, काठमाडौं । धनगढी । खेलका माध्यमबाट सुदूरपश्चिम प्रदेशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरिएको छ।

धनगढीस्थित सोराइ होटलमा आयोजित विशेष कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रत्येक खेलाडीलाई जनही ७० हजार रुपैयाँ, दोसल्ला र प्रशंसा–पत्रसहित सम्मान गरेको हो।

सम्मानित हुने खेलाडीहरूमा बक्सिङका विष्णुबहादुर सिंह र डम्मरदत्त भट्ट, तेक्वान्दोका दीपक बिष्ट, भारोत्तोलनका भरतबहादुर साउँद, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सरस्वती भट्टराई, तेक्वान्दोकी निशा रावल, ब्याडमिन्टनका प्रिन्स दाहाल, पारा एथलेटिक्सका विक्रमबहादुर राना तथा पारा तेक्वान्दोका भरतसिंह महता रहेका छन्।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बेलबहादुर राना र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले नगद, दोसल्ला तथा प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेका थिए।

सम्मानपछि बोल्दै कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले प्रदेश सरकारको पहलप्रति आभार व्यक्त गर्दै सीमित स्रोत–साधनका बाबजुद सुदूरपश्चिमका खेलाडीहरूले विश्व मञ्चमा नेपालको गौरव बढाएको बताए। उनले अब राज्यले खेल र खेलाडीको भविष्य सुनिश्चित गर्न लगानी बढाउनुपर्नेमा जोड दिए।

बिष्टले सुदूरपश्चिम केवल खेलाडी जन्माउने भूमि मात्र नभई च्याम्पियन उत्पादन गर्ने थलो भएकाले खेलकुद पूर्वाधार, प्रशिक्षण र अवसर विस्तारमा विशेष ध्यान दिन आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि बेलबहादुर रानाले आफू पनि खेल पृष्ठभूमिबाट आएको उल्लेख गर्दै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्याप्त लगानी अभावका बीच पनि प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेको भन्दै आगामी दिनमा आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने बताए।

कार्यक्रमका सभाध्यक्ष तथा परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले सुदूरपश्चिमले विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरे पनि लगानीको हिसाबले पछि परेको बताए। पर्याप्त सुविधा र लगानी उपलब्ध गराउन सके प्रदेशका खेलाडीले अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका खेलकुद समितिका अध्यक्ष, कार्यालय प्रमुख, प्रशिक्षक तथा विभिन्न खेल संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य परिषद्का सदस्य कासीराम बोहराले राखेका थिए भने सञ्चालन प्रशिक्षक केशव बडुवालले गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस