असार ८, मुगु । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा सुरक्षित आश्रयका लागि आपतकालीन आवासीय भवन निर्माण गरिएको छ । मुगुको सोरु गाउँपालिका वडा नं. ४ लिब्रुमा विपद् तथा आपतकालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले आपतकालीन आवासीय भवन निर्माण गरिएको हो ।

सहरी बिकास मन्त्रालयको सहयोगमा तथा सोरु गाउँपालिकाको समन्वयमा प्राकृतिक विपद्, आगलागी, बाढीपहिरो लगायतका विभिन्न क्षेत्रमा आवासियको लागि समस्यामा परेका मानिसलाई आपतकालीन प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित आवास प्रदान गर्ने उद्देश्यले सोरु गाउँपालिका लिब्रु गाउका स्थानीय अंग बहादुर शाही लगायत त्यहाका स्थानीयको निशुल्क जग्गा दान बाट सो भवन निर्माण गरिएको बताएका छन् ।
स्थानीय अंगबहादुर शाहीका अनुसार सरकारले आपतकालिन भवन निर्माणका लागि २५ लाख रुपैया सहयोग गरेपछि हामिले निशुल्क रुपमा जग्गा दान गरेर भवन निर्माण गरेको बताए । यो भवन जिल्लामै पहिलो पटक निर्माण गरिएको छ । यसले गर्दा समाजमा सराकात्मक प्रभाव परेको छ । स्थानीयवासीहरूले भवन निर्माणसँगै विपद्का समयमा सुरक्षित बसोबासको व्यवस्था भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
गाउँपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नागरिकको सुरक्षा र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो पूर्वाधार निर्माण गरिएको र आपतकालीन अवस्थाका बेला नागरिकलाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउन भवन निर्माण गरिएको वडा न ४ लिब्रु गाउँका काबा वडा अध्यक्ष जनक बहादुर शाहीले बताए । स्थानीय तहको यस पहलले विपद् जोखिम न्यूनीकरण तथा समुदायको सुरक्षा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।