• २०८३ कार्तिक ३० गते आइतवार

सुनको भाउ तोलामा १४ हजार बढीले घट्यो, चाँदी पनि ओरालोमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं ।  नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।

महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

तिहारयताको समग्र बजार अवस्था हेर्दा सुनको मूल्य प्रतितोला १४ हजार १ सय रुपैयाँले घटिसकेको छ । तिहारअघि अर्थात् गत सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तिहार बिदाका कारण सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा सुनचाँदीको मूल्य समायोजन गरिएको थियो ।

यस्तै, आइतबार चाँदीको भाउ पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आइतबार घटेर ३ हजार ६ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । तिहारयता चाँदीको मूल्यमा कुल २५५ रुपैयाँले गिरावट आएको छ । गत सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस