• २०८३ असार ३ गते बुधवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २० मिनेट

असार ३, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो। सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरुले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको हो । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

२- जेठसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड पुगेको छ । सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको जेठ मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ७७ अर्ब २८ करोड र बाहृय १५ खर्ब ८३ अर्ब ९१ करोड रहेको छ । गत असार मसान्तको तुलनामा जेठ मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ८७ अर्ब १४ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.८७ प्रतिशत हो । कुल सार्बजनिक ऋण जेठ मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत रहेको ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब ६६ करोड सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म ४ खर्ब १८ अर्ब १२ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति ७०.२० प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश ९३.५५ र ३४.०१ प्रतिशत रहेको छ । कुल सार्बजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमश ८१ र १९ प्रतिशत रहेको छ । चालु आर्थिक बर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकोमा जेठ मसान्तसम्म ३ खर्ब ५१ अर्ब ७४ करोड भुक्तानी भएको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ । यो बार्षिक बजेट विनियिजनको आधारमा ८५.५८ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा जेठ मसान्तसम्म कुल ऋण सेवा खर्च ५.३३ प्रतिशत रहेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

३- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई वार्षिक बजेटमा सीमित नराखी वर्षभरि नै नीतिगत निर्णयमार्फत कार्यान्वयन गर्ने सरकारको रणनीति रहेको बताएका छन् । आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था नरहेको बताउदै मन्त्रिपरिषद् र अर्थ मन्त्रालयबाट नीतिगत निर्णयमार्फत निरन्तर सुधारका काम अघि बढाउन सकिने बताए । उनले भनेका छन्- ‘निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्दैन भन्ने हाम्रो स्पष्ट विश्वास हो । कसैको दबाब वा मागका आधारमा होइन, खुला रूपमा व्यवसाय गरौँ, कर तिरौँ र गर्विलो नागरिक बनौँ भन्ने उद्देश्यका साथ हामीले कर तथा नीतिगत सुधार अघि सारेका हौँ । केहि सुधार गर्नुपर्ने भएमा अर्को बजेट कुर्नु पर्दैन । मन्त्रिपरिषदबाट र मन्त्रीस्तरबाट पनि गर्न सकिन्छ ।’ उनले वर्तमान सरकारले बजेट तयारीका लागि पर्याप्त समय नपाए पनि उद्यमी तथा व्यवसायीमैत्री नीति ल्याउन प्रयास गरेको दाबी गरेका छन् । विगतमा निजी क्षेत्रप्रति सार्वजनिक रूपमा नकारात्मक धारणा व्यक्त गर्ने तर व्यवहारमा उनीहरूमै निर्भर रहने दोहोरो प्रवृत्ति अन्त्य गर्ने प्रयास गरिएको उनको भनाइ थियो । उनले भने- ‘हामीले दोहोरो चरित्र त्यागेका छौँ । निजी क्षेत्रलाई गाली गर्ने तर उनीहरूकै सहयोगमा राजनीति चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । जे हो, त्यही स्पष्ट रूपमा भन्नुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढेका छौँ ।’

४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयअन्तर्गतको बालविकास केन्द्रमा कार्यरत एक सहयोगी कार्यकर्तामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा बिना कुमारी राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिनका लागि कक्षा ८ र एसएलसीको नतिजापत्र तथा चरित्र प्रमाणपत्र नक्कली पेस गरेको पुष्टि भएको अख्तियारले बताएको छ । उक्त झुट्टा कागजातका आधारमा उनले सरकारी सेवा सुविधा र लाभ लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताएको छ ।

५- उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट आवश्यक प्रस्ताव आएमा वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना जस्ता औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको जानकारी गराएका थिए । राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश निरन्तर सहयोग गर्न तयार रहेको बताए । उनले जलविद्युत्, कृषि, स्वास्थ्य तथा भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग गर्न रुस इच्छुक रहेको उल्लेख गरेका थिए । भेटमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र रुसबीच मित्रवत् सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै त्यसप्रति सन्तोष व्यक्त गरे । उनले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा हुने प्रसंग उठाउँदै आपसी सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्धलाई नेपालले उच्च महत्वका साथ स्मरण गर्ने बताए । उनले नेपालले सोभियत संघ कालदेखि नै मानव संसाधन विकास, पर्यटन, उद्योग तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसबाट प्राप्त सहयोगको प्रशंसा गरे । पछिल्ला वर्षमा दुई देशबीच सांस्कृतिक तथा जनस्तरमा आदानप्रदान बढ्दै गएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा रुसी जनताको सुख, शान्ति र समृद्धिको शुभकामना समेत दिए ।

६- काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो । समितिले जारी गरेको सूचनाअनुसार पहिलो पटक प्रकाशित भएको मितिदेखि १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको वेवसाइट www.moest.gov.np मा दिइएको लिंकमा दरखास्त पेस गर्न सकिनेछ । उपकुलपति नियुक्ति प्रक्रिया केयूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८३ बमोजिम अघि बढाइएको हो । यसअघि जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा केयूका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य रहेका छन् । समितिले प्राप्त आवेदनका आधारमा योग्य उम्मेदवारहरूको छनोट गरी उपकुलपति पदका लागि नाम सिफारिस गर्नेछ । शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको काठमाडौँ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिसँगै भावी शैक्षिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ ।

७- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदै सञ्चारमन्त्री डा तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो धेरै आउने गरेको र त्यसको समाधानका लागि मन्त्रालय गम्भीरतापूर्वक लागिपरेको बताए । उनले दूरसञ्चार सेवाको विस्तार तथा स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा नेपाल टेलिकममार्फत मन्त्रालयको बजेटभन्दा बढी रकम लगानी हुने जानकारी दिए । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले मात्रै आगामी आर्थिक वर्षमा रू छ अर्ब भन्दा बढी लगानी गर्ने तयारी गरेको उनको भनाइ थियो । सञ्चारमन्त्री डा तिमिल्सिनाका अनुसार हाल देशभर चार हजार ८२९ साइट सञ्चालनमा रहेका छन् । तीमध्ये कोशी प्रदेशमा ७६०, मधेशमा ५६८, बागमतीमा एक हजार २७७, गण्डकीमा ५९९, लुम्बिनीमा ८१९, कर्णालीमा ३०५ र सुदूरपश्चिममा ५०१ साइट सञ्चालनमा छन् । उनले सेवाको पहुँच र गुणस्तरका आधारमा थप पूर्वाधार आवश्यक रहेको अध्ययनले देखाएको बताउँदै कोशीमा २५७, मधेशमा २२८, बागमतीमा ३८९, गण्डकीमा ७६, लुम्बिनीमा २००, कर्णालीमा १२१ र सुदूरपश्चिममा १७२ गरी देशभर एक हजार ४४३ नयाँ साइटको आवश्यकता पहिचान गरिएको जानकारी दिए । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको मूल्याङ्कनअनुसार यी अतिरिक्त साइट सञ्चालनमा आएपछि देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँचमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गर्दै मन्त्री डा तिमिल्सिनाले आवश्यकताभन्दा बढी पूर्वाधार निर्माणलाई लक्ष्य गरी करिब १६ सय साइटका लागि खरिद प्रक्रिया अघि बढाउन लागिएको बताए । दूरसञ्चार उपकरणको अधिकांश सामग्री विदेशबाट खरिद गर्नुपर्ने भएकाले केही समय लाग्ने भए पनि मन्त्रालयले सम्बन्धित सेवा प्रदायक संस्थाहरूसँग नियमित समन्वय गरी समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएको उनले जानकारी दिए । सञ्चारमन्त्री डा तिमिल्सिनाले दूरसञ्चार सेवा सम्बन्धी जनगुनासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै नागरिकले गुणस्तरीय सञ्चार सेवा प्राप्त गर्ने सुनिश्चितताका लागि तीव्र गतिमा काम भइरहेकोसमेत बताए ।

८- नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ०.०८ अंकले घटेर २७०५.५३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, लगानी र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी डिभेन्चरको शेयर ८.६४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोड १७ लाख बराबरको कारोबार भएको छ रिलायन्स स्पिनिंग मिल्सको १८ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

९- झापाका सबै चिया उद्योगहरू भोलिदेखि बन्द हुने भएका छन् । उद्योग बन्द भएपछि करिब ६० हजार मजदुर र कर्मचारीको रोजगारी प्रभावित हुने देखिएको छ । नेपाल चिया उत्पादक संघका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर सम्बन्धी नियमका कारण चिया निर्यातमा समस्या आएपछि उद्योग बन्द गर्न बाध्य भएको हो । संघले झापामा रहेका ३२ चिया उद्योग प्रभावित भएका छन् भने यसअघि नै इलामका ५३ अर्थोडक्स चिया उद्योग बन्द भइसकेका छन् । नेपालमा वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने र त्यसबाट ठूलो हिस्सा भारत निर्यात हुने गरिएको छ । नयाँ नियमका कारण चिया परीक्षण, भण्डारण र निकासी प्रक्रिया जटिल बनेको तथा गोदाममा राखिएको चिया बिग्रिने अवस्था आएको उद्योगीहरूको भनाइ छ । चियाको परीक्षणमा लामो समय लाग्ने र रिपोर्ट नकारात्मक आए नष्ट गर्नुपर्ने जस्ता व्यवस्था अव्यवहारिक भएको उनीहरूको आरोप छ । त्यस्तै उद्योगीहरूले चिया बिक्री रोकिएपछि किसानको हरियो पत्तीको भुक्तानी, विद्युत् महसुल र कर तिर्न समेत समस्या हुने बताएका छन् । समस्या समाधान नभएसम्म उद्योग सञ्चालन गर्न नसकिने चेतावनी पनि दिइएको छ । उनीहरुले सरकारसँग तत्काल पहल गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामार्फत ज्ञापनपत्र बुझाएको बताएका छन् ।

१०- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री यादवले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् । उनले चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेका उनले बताइन् । भारतले चियाको आयातमा गुणस्तर जाँचको मापदण्ड परिवर्तन गरेपछि नेपालबाट हुने चिया निर्यात प्रभावित हुदा अहिले इलाममा चिया उद्योग बन्द रहेका छन् ।

११- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा अवरोध गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाउन शुरु गरेका थिए । त्यसपछि सभामुखले मन्त्रीले स्पष्टीकरण दिएपछि फेरी स्पष्टिकरण सोध्ने नियम नरहेको बताएपनि श्रम संस्कृतिले वेल घेराउ गर्दै विरोध गरिरहेको छ । सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराएपनि त्यसलाई बेवास्ता गर्दै विरोध जारी राखेका छन् ।

१२- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् । उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन् । स्वास्थ्य उपचारका क्रममा नेपालबाहिर रहेका देउवा दम्पतीले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउदै पत्र पठाएका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको पत्रमा उनीहरूले आफूहरूविरुद्ध भ्रमपूर्ण भाष्य सिर्जना नगर्न र धरपकड नगर्नसमेत अनुरोध गरेका छन् । पत्रमा भनिएको छ- ‘हाम्रो उद्देश्य कुनै प्राविधिक आधारमा हामीविरुद्धको अनुसन्धानलाई रोकछेक, प्रतिरोध गर्ने नभई कानुनसम्मत, खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको छ । आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि तहाँ उपस्थित भई अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रूपमै स्पष्ट गर्न चाहेका छौं ।’पत्रमा देउवा दम्पतीले आफूहरूविरुद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गत जेठ ११ गते अन्तरिम आदेश भइसकेको स्मरण गराएको विभाग स्रोतले जानकारी दिएको छ । गत असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। अनुसन्धान टोलीले देउवाको ध्वस्त भएको भवनमा बसी अनुसन्धान गरिसकेको थियो । तर, २०८२ फागुन १३ गते नेपाल बाहिर जाने दिनसम्म पनि विभागबाट उपस्थित हुन कुनै पत्र प्राप्त नभएको देउवाले बताएका छन् । देउवा दम्पतीले आफूहरूविरुद्ध अख्तियारलगायत कुनै संवैधानिक निकायले छानबिन नगरेको र विभागको छानबिनबाट समेत कुनै बहुमूल्य वस्तु फेला नपरेको जिकिर गरेका छन्। उनीहरू २०८२ फागुन १३ गते सिंगापुर प्रस्थान गरेका थिए । यसैबीच देउवा दम्पतिलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्न सरकारले गरेको प्रयास भने असफल भएको छ । इन्टर पोलले देउवा दम्पतिलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्न प्रमाण अपुग भएको भन्दै अस्वीकार गरेको बुझिएको छ ।

१३- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह चिया उद्योगको समस्याप्रति उदासिन भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले चिया पिएको भिडियो देखिएको तर, चिया किसान र उद्योगको समस्या समाधानका लागि चासो देखाएको आरोप लगाएका हुन् । उनले छिमेकी देश भारतले नेपालको चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाहरुका उद्योगहरु तीन दिनदेखि बन्दको अवस्थामा रहेको बताउदै अहिले इलाममा मात्र ८३ वटा चिया उद्योग बन्द रहेको उल्लेख गरे । उनले यति संवेदनशिल विषयमा सरकारको ध्यान नगएको आरोप लगाउदै प्रधानमन्त्री दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त रहेको टिप्पणी गरेका थिए । चिया निर्यात रोकिँदा किसानको चिया खेर गएको, उद्योग आर्थिक मारमा परेको किसान र उद्योगले बैंकबाट लिएको ऋण तिर्न समस्या आएको उल्लेख गर्दै सांसद राईले चियामा आश्रित किसानको रोजीरोटी र छोराछोरीको शिक्षामा समेत असर परेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

१४- अस्ट्रियाले विश्वकपमा ३६ वर्षपछि पहिलो जित दर्ता गर्दै प्रतियोगितामा पहिलो पटक सहभागी भएको जोर्डनलाई ३–१ ले पराजित गरेको छ । अस्ट्रियाले सन् १९९० पछि विश्वकपको अन्तिम चरणमा पहिलो पटक जित हात पारेको हो । सान फ्रान्सिस्कोमा भएको खेलमा युरोपेली टोलीका लागि रोमानो स्मिडले २१औँ मिनेटमा शानदार गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै अली ओल्वानले आकर्षक घुमाउरो प्रहारमार्फत गोल गर्दै जोर्डनलाई खेलमा फर्काएका थिए । त्यसपछि पूर्व स्टोक सिटी र वेस्ट ह्यामका फरवार्ड मार्को अर्नाउटोभिचले जोर्डनका गोलरक्षक याजिद अबुलैलाले कर्नर बल नियन्त्रण गर्न नसक्दा आएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए । तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि उक्त गोल रद्द गरियो । टेलिभिजन पुनरावलोकनमा बल स्टेफन पोस्चको हातमा लागेको देखिएपछि गोल अमान्य घोषित गरिएको थियो । यद्यपि, त्यसले अस्ट्रियाको लयमा असर पारेन । पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक राल्फ राङनिकको नेतृत्वमा रहेको टोलीले ७६औँ मिनेटमा पुनः अग्रता बनायो । कर्नरबाट आएको बल जोर्डनका डिफेन्डर याजन अल अरबले आफ्नै पोस्टमा छिराएपछि अस्ट्रिया २–१ ले अघि बढेको थियो । त्यसपछि इन्जुरी समयको १२औँ मिनेटमा सलीम ओबैदले ह्यान्डबल गरेपछि प्राप्त पेनाल्टीलाई अर्नाउटोभिचले गोलमा परिणत गर्दै अस्ट्रियाको जित सुनिश्चित गरे । अब अस्ट्रियाले सोमबार समूह चरणको दोस्रो खेलमा साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराउँदा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए । उक्त ह्याट्रिकसँगै मेस्सी विश्वकपको अन्तिम चरणमा १६ गोलसहित जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमानसँग बराबरीमा पुगेका छन्। उनलाई एक गोलले सर्वाधिक गोलकर्ता बन्ने अवसर छ । विश्व वरीयताको ६७औँ स्थानमा रहेको जोर्डनले भने आफ्नो प्रदर्शनबाट सकारात्मक सन्देश दिएको छ । यद्यपि, अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन उसले अल्जेरियाविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्नेछ । त्यसपछि उसले समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्नेछ । अस्ट्रिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको अन्तिम चरणमा पुगेको हो । साथै, सन् १९९० जुन १९ मा अमेरिकालाई २–१ ले पराजित गरेयता यो उसको विश्वकपमा पहिलो जित पनि हो ।

१५- सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न भनिएको छ । छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो-भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको छ । यी विषयमा विभिन्न निकायमा गुनासो तथा उजुरी रहेका छन् । त्यस्ता उजुरी तथा गुनासोका सन्दर्भमा मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो । नेपाल टेलिभिजनमा विगत केही वर्षयता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि भएका विभिन्न खरिद प्रक्रियाबारे पारदर्शिता तथा कानुनी प्रक्रियाको पालनासम्बन्धी प्रश्नहरू उठ्दै आएका छन् । यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे पनि छानबिन समिति गठन गरेको थियो ।

१६- नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर भएको रु पाँच सय दरको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ । बैंकले नयाँ नोट पुरानै आकार र रङ्गमा तयार गरिएको जनाएको छ । नोटको संकेत नम्बर झ ३८ ट ८३ १०००००१ देखि ९९९९९९ सम्म रहने र यो नोट आजदेखि चलनचल्तीमा ल्याएको हो । नोटको अगाडिको भागमा मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट पाँच सय रुपैयाँ तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्य लेखिएको छ । बायाँतर्फ सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । तल्लो भागमा वि.सं. २०८२ लेखिएको छ । दृष्टिविहीन व्यक्तिले स्पर्श गरेर दर पहिचान गर्न सक्ने गरी पानीछापको बायाँतर्फ दुईवटा कालो थोप्ला पनि राखिएका छन् । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र हल्का ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । साथै ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ । नोटको पछिल्लो भागमा बीचमा पाटेबाघको चित्र राखिएको छ । त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। तल्लो भागमा पाँच सय रुपैयाँ र संकेत नम्बर २०२५ इस्वी संवत् उल्लेख गरिएको छ । यसअघि २०७८ साल पुस ९ गतेदेखि पुरानो शृंखलाको पाँच सय दरको बैंकनोट प्रचलनमा ल्याउने सम्बन्धी सूचना प्रकाशित भएको थियो । नयाँ नोटसँग सम्बन्धित विवरण अद्यावधिक गर्दै हालको शृंखला अनुसार वितरण सुरु गरिएको जनाइएको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १२ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९९० मा कारोबार भएको थियो ।

१८- अर्जेन्टिनाले जारी विश्वकपमा शानदार शुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो । मेसीले ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको बराबरी गरेका हुन् । दुवैले विश्वकपमा १६-१६ गोल गरेका छन् । त्यसैगरी मेसीले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको किर्तिमान बनाएका छन् । यो जितपछि अर्जेन्टिनाको समुह जे मा ३ अंक भएको छ । अब अर्जेन्टिनाले अर्को खेल जुन २२ मा अस्ट्रियासँग र जुन २८ मा जोर्डनसँग खेल्ने तालिका छन् । त्यस्तै अल्जेरियालेअर्को खेल जुन २३ मा जोर्डनसँग र जुन २८ मा अस्ट्रियासँग खेल्ने तालिका छन् ।

१९- इर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकप खेलमै दुई गोल गरेपछि नर्वेले समूह ‘आई’ को पहिलो खेलमा इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । यस खेलमा दुई गोल गरेसँगै हालान्डले राष्ट्रिय टोलीका लागि ५१ खेलमा ५७ गोल पूरा गरेका छन् । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि उनले उत्कृष्ट प्रदर्शन गरे । यद्यपि खेलको अन्त्यतिर उनको ह्याट्रिक गर्ने अवसर इराकका गोलरक्षक जलाल हसनले उत्कृष्ट बचाउ गर्दै विफल बनाएका थिए । यदि उनले ह्याट्रिक पूरा गरेका भए विश्वकप इतिहासको ५५औँ ह्याट्रिक हुने थियो । ४० वर्षपछि विश्वकपमा पुनरागमन गरेको इराकले खेलको सुरुआती समयमा निकै प्रभावशाली प्रदर्शन गरेको थियो । दुवै टोलीबीच बराबरी कायम रहँदा पहिलो हाफको हाइड्रेसन ब्रेकपछि ५८ सेकेन्डमै नर्वेले अग्रता लियो । डेभिड मोलर वुल्फले बायाँतर्फबाट दिएको आकर्षक तल्लो पासलाई हालान्डले पोस्ट नजिकैबाट गोलमा परिणत गरेका थिए । इराकले ३९औँ मिनेटमा बराबरी गोल फर्कायो । अमिर अल अम्मारीको क्रसमा आइमेन हुसेनले शक्तिशाली हेडरमार्फत गोल गरेका थिए । उनै हुसेनले गत मार्चमा बोलिभियाविरुद्ध अन्तरमहादेशीय प्लेअफको फाइनलमा विजयी गोल गर्दै इराकलाई विश्वकपमा स्थान दिलाएका थिए । तर बराबरी लामो समय टिक्न सकेन । चार मिनेटपछि हालान्डले जलाल हसनको गल्तीको फाइदा उठाउँदै आफ्नो दोस्रो गोल गरे । आफ्नै छ यार्ड क्षेत्रभित्र फर्काइएको बल नियन्त्रण गर्न ढिलाइ गरेका हसनको क्लियरेन्स हालान्डमा लागेर जाली चुमेको थियो । यद्यपि पहिलो हाफको अन्त्यतिर इराकले फेरि दबाब बढायो । इब्राहिम बायेशको भली प्रहार डिफ्लेक्ट हुँदै बाहिरियो भने अली अल-हमादीलाई क्रिस्टोफर आजेरले पेनाल्टी क्षेत्रमा रोकिदिए । अक्काम हाशिमको २० यार्ड टाढाबाट गरेको शानदार भली प्रहार पनि बारभन्दा थोरैले माथिबाट बाहिरियो । दोस्रो हाफमा इराकका वैकल्पिक खेलाडी जिदान इकबाल मैदान प्रवेश गरेसँगै पुरुष विश्वकप खेल्ने पाकिस्तानी मूलका पहिलो खेलाडी बने । ७६औँ मिनेटमा मार्टिन ओडेगार्डको कर्नरमा वैकल्पिक खेलाडी लिओ ओस्टिगार्डले हेडरमार्फत गोल गर्दै नर्वेको अग्रता थप फराकिलो बनाए । इन्जुरी समयको अन्त्यतिर हालान्डको गोलतर्फ गएको हेडरलाई आइमेन हुसेनले क्लियर गर्ने प्रयास गर्दा आफ्नै पोस्टमा गोल हुन पुग्यो र नर्वेले ४–१ को जित सुनिश्चित गर्‍यो । यो प्रतियोगितामा पाँचौँ प्रयासमा आएर एसियाली फुटबल महासंघअन्तर्गतको टोलीविरुद्ध कुनै युरोपेली राष्ट्रले जित हात पारेको पहिलो अवसर पनि हो । जारी विश्वकपमा अब नर्वेले अर्को खेल जुन २३ मा सेनेगलविरुद्ध खेल्ने छ भने जुन २७ मा फ्रान्सविरुद्ध खेल्ने तालिका छ । त्यस्तै इराकले जुन २३ मा फ्रान्सविरुद्ध र जुन २७ मा सेनेगलविरुद्ध खेल्ने तालिका रहेको छ ।

२०- फ्रान्सले फिफा विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । यस खेलमा दुई गोल गरेका कप्तान किलियन एम्बाप्पे फ्रान्सका सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने एम्बाप्पेले दोस्रो हाफमा पहिलो गोल गर्दै सेनेगलको प्रतिरोध तोडेका थिए । त्यसपछि इन्जुरी समयमा उनले लामो दूरीबाट शानदार प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरेका थिए । योसँगै एम्बाप्पेको फ्रान्सका लागि कुल गोल संख्या ५८ पुगेको छ । उनले पूर्व कीर्तिमानी खेलाडी ओलिभियर जिरुडलाई एक गोलले पछि पार्दै नयाँ इतिहास रचेका हुन् । फ्रान्सका लागि ब्राड्ली बारकोलाले अर्को एक गोल गरेका थिए । सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काए पनि टोलीलाई पुनरागमन गराउन सकेनन् । एम्बाप्पेको दोस्रो गोलले सेनेगलको आशा पूर्ण रूपमा समाप्त गरिदियो । एम्बाप्पेको पहिलो गोलअघि भने फ्रान्सको प्रदर्शन अपेक्षाअनुसार प्रभावशाली थिएन । सेनेगलले खेलमा राम्रो अवसर सिर्जना गरेको थियो र पहिलो हाफमा अग्रता लिन नसक्नु दुर्भाग्यपूर्ण मानिएको छ । सेनेगलका निकोलस ज्याक्सन गोल गर्न निकै नजिक पुगेका थिए । उनको तल्लो प्रहार पोस्टमा लागेर फर्किएको थियो भने फ्रान्सका गोलरक्षक माइक मैन्याँको खुट्टामा छोएर बल पोस्टको छेउबाट बाहिरिएको थियो । पहिलो हाफको अन्त्यतिर इस्माइला सारले पनि टोलीलाई अग्रता दिलाउने अवसर गुमाए। साडियो मानेको क्रसमा उनले नजिकबाट प्रहार गरे पनि लक्ष्यमा राख्न सकेनन् । दोस्रो हाफमा फ्रान्स नयाँ जोशका साथ मैदानमा फर्किएको थियो । यस क्रममा मानेले पेनाल्टी क्षेत्रभित्र एम्बाप्पेलाई लडाएको जस्तो देखिएपछि विवाद उत्पन्न भयो । रेफ्री अलिरेजा फाघानीले सुरुमा फ्रान्सलाई कर्नर दिएका थिए। भिडियो सहायक रेफ्रीको सुझावपछि उनले भिडियो हेरे पनि पेनाल्टी दिएनन् । फाघानीले एम्बाप्पेले नै सम्पर्क सुरु गरेको निष्कर्ष निकाले । यद्यपि त्यसले खेलको नतिजामा कुनै असर पारेन । फ्रान्स र एम्बाप्पेले उत्कृष्ट प्रतिक्रिया दिँदै तीन अंक सुरक्षित गरेका थिए । फ्रान्सले अब अर्को खेल जुन २३ मा इराकसँग र जुन २७ मा नर्वेसँग खेल्ने तालिका छन् । त्यस्तै सेनेगलले भने जुन २३ मा नर्वेसँग र जुन २७ मा इराकसँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस