जेठ ८, काठमाडौं । भारतीय राजनीतिमा ‘कक्रोच जनता पार्टी’ नामक व्यङ्ग्यात्मक सामाजिक अभियानले हलचल मच्चाएको छ । सामाजिक सञ्जालमा सुरु भएको यो अभियानमा अहिले करोडौ युवा जोडिएपछि यसलाई अहिले भारतको सरकार र सिस्टमविरुद्धको अभियानको रुपमा हेरिएको छ र यसले नयाँ राजनीतिक बहस जन्माएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरू, पत्रकारिता र सामाजिक सक्रियतामा लाग्ने समूहलाई कक्रोच भनेर गरेको टिप्पणीपछि यो अभियानको शुरुवात गरिएको थियो । पछि उनले आफ्नो भनाइ विशेष रूपमा नक्कली र आधारहीन डिग्री भएका व्यक्तिहरूतर्फ लक्षित रहेको स्पष्ट पारेपनि उनको स्पष्टीकरण आउदासम्म यो अभियान जन्मिएर युवाहरुमा लोकप्रिय बनिसकेको थियो ।
यसलाई अहिलेसम्म कुनै औपचारिक राजनीतिक दल नभई व्यङ्ग्यमा आधारित सामाजिक सञ्जाल आन्दोलको रुपमा हेरिएको छ र यसको लोकप्रियतालाई हेर्दा भविष्यमा यो अभियानले राजनीतिक दलको रुपमा अगाडी आउदैन भन्न सकिन्न ।
यस अभियानमा बेरोजगार हुनु, धेरै समय सामाजिक सञ्जालमा सक्रिय रहनु र आक्रोश व्यक्त गर्न सक्ने क्षमता हुनुलाई सदस्यताको आधार बनाइएको छ । छोटो समयमै यसका करोडौं फलोअर रहेका छन् भने सामाजिक सञ्जालमा यस अभियानलाई सहयोग पुग्ने व्यंग्यात्मक मिम बनिरहेका छन् । इन्स्टाग्राममा मात्र यस पार्टीको एकाउन्टमा फलोअरको संख्याएक करोड ९४ लाख भन्दा बढी भइसकेको छ ।
यो अभियान सुरु गर्ने अभिजीत दीपकेले यसलाई मजाकका रूपमा सुरु गरिएको बताएका छन् । तर राजनीतिक विश्लेषक योगेन्द्र यादवले यसलाई केवल मजाकका रूपमा मात्र हेर्न नहुने बताएका छन् ।
बिबिसी हिन्दीसँग कुरा गर्दै उनले यो आक्रोश मात्र नभएर व्यवस्था भित्रको असन्तोष भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘यो केवल हाँसो वा आक्रोश मात्र होइन, व्यवस्थाभित्र गहिरो असन्तोषको संकेत हो । जब अभिव्यक्तिका परम्परागत बाटा बन्द हुन्छन्, तब यस्तो स्वरूप बाहिर आउछ ।’
उनले इतिहासका उदाहरण दिँदै विभिन्न कालखण्डमा ठूलो राजनीतिक परिवर्तनपछि नयाँ आन्दोलनहरू अनपेक्षित रूपमा देखा परेको र जब व्यवस्था कठोर हुन्छ, जनताले नयाँ बाटो खोज्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा व्यङ्ग्यलाई दबाउने प्रयासले उल्टै असन्तोष अझ फैलिन सक्ने चेतावनी दिएका छन् । साथै उनले विपक्षी दलहरूले युवासँग जोडिन नसकेको पनि टिप्पणी गरेका छन् । उनका अनुसार, अहिलेको पुस्ताले परम्परागत राजनीतिक दस्तावेज वा भाषाभन्दा सामाजिक सञ्जालमा आधारित अभिव्यक्ति रोजिरहेको छ । पोस्टर र भाषणको ठाउँमा अहिले व्यङ्ग्य र छोटा डिजिटल अभिव्यक्तिहरूले स्थान लिएको छ ।
उनले यो प्रवृत्तिलाई नयाँ राजनीतिक भाषा भन्दै यसलाई बुझ्न नसके सत्ता र विपक्ष दुवैले जनसमर्थन गुमाउन सक्ने बताएका छन् । विश्लेषक यादवका अनुसार, ठूलो संख्यामा युवाहरूले आफूलाई ‘तिलचट्टा’ प्रतीकसँग जोड्नु केवल आक्रोश मात्र होइन, निराशा र अपेक्षाको मिश्रण पनि हो । उनी भन्छन्, यसभित्र असन्तोषसँगै परिवर्तनको चाहना पनि लुकेको छ ।
अझ यस घटनालाई भारतमा हालै भएको एमबिबिएस अध्ययनका लागि हुने निट परीक्षाको प्रश्नपत्र लिक भएको घटनासँग पनि जोडिएको छ । लाखौ विद्यार्थी सहभागी हुने सो परीक्षाको प्रश्नपत्र केहि साता अघि नै लिक भएको पाइएपछि परीक्षा रद्ध गरिएको छ भने युवाहरुमा सरकार र सिस्टम निकै आक्रोश रहेको छ ।
यसैबीच भारत सरकारले कक्रोच जनता पार्टीप्रति एक्सन लिन पनि शुरु गरेको देखिएको छ । यसको सामाजिक सञ्जाल खाता बन्द गरिएको छ । अहिले सामाजिक सञ्जालमा सिमित रहेको यो अभियान अब भोली सडकमा आउने सम्भावना रहेको बताइएको छ । महंगी, बेरोजगारी र बेथितिविरुद्ध युवाहरुको यो डिजिटल आक्रोशले भारतको राजनीतिलाई तरंगित मात्र बनाएको छैन भारतीय सत्ताको सिस्टम समेत हल्लाइदिएको विश्लेषण गरिएको छ ।