वैशाख २१, काठमाडौं । खगोलविदहरूले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ शक्तिशाली उपकरण ‘रेभन’ को प्रयोग गर्दै सौर्यमण्डल बाहिरका १०० भन्दा बढी ग्रहको पुष्टि गरेका छन् । तीमध्ये ३१ वटा पूर्ण रूपमा नयाँ ग्रह रहेको जनाइएको छ ।

यो खोज नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे उपग्रह अभियानबाट सङ्कलित तथ्याङ्कको विश्लेषणबाट गरिएको हो । अध्ययनका क्रममा केही दुर्लभ र चरम प्रकृतिका ग्रह पनि फेला परेका छन्, जसले आफ्ना ताराको अत्यन्त नजिक अत्यधिक गतिमा परिक्रमा गर्छन् । साथै ‘नेप्च्यूनियन डेजर्ट’ भनिने अन्तरिक्षको दुर्लभ क्षेत्रमा रहेका ग्रह पनि पहिचान गरिएको छ, विशेष गरी ताराको नजिक रहेका अवस्थामा, जहाँ नेप्च्यून आकारका मध्यम ग्यासीय ग्रह अत्यन्त कम पाइन्छन् ।
यो अध्ययन वारविक विश्वविद्यालयका खगोलविदहरूले गरेका हुन् । अध्ययनको नतिजा ‘मन्थ्ली नोटिसेस अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटी’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ । अनुसन्धान टोलीले चार वर्षको अवधिमा सङ्कलित २२ लाखभन्दा बढी ताराको तथ्याङ्क विश्लेषण गरेको थियो ।
आधुनिक अन्तरिक्ष अनुसन्धानमा हजारौँ सम्भावित ग्रहका संकेत भेटिने भए पनि वास्तविक ग्रह र झूटा संकेत छुट्याउन कठिन हुने गर्छ । ‘रेभन’ उपकरणले यही समस्या समाधान गर्न सहयोग गरेको छ । यसलाई लाखौँ नमुना तथ्याङ्कमा तालिम दिइएको छ, जसले ताराको उज्यालोपन घट्नुको कारण ग्रह हो वा अन्य खगोलीय घटना हो भन्ने छुट्याउन सक्छ ।
अनुसन्धानकर्ताहरूले विशेष गरी ती ग्रहमा ध्यान दिएका छन्, जसले आफ्ना ताराको नजिक परिक्रमा गर्दै १६ दिनभन्दा कम समयमा एक फन्को पूरा गर्छन् । अध्ययनकी प्रमुख अनुसन्धानकर्ता डा. मरिना लाफार्गा म्याग्रोका अनुसार ‘रेभन’ को सहयोगले ११८ नयाँ ग्रह पुष्टि गरिएको छ भने २ हजारभन्दा बढी उच्च सम्भावना भएका ग्रह पहिचान भएका छन्, जसमध्ये करिब १ हजार नयाँ छन् ।
नयाँ खोजमा अति छोटो समयमै परिक्रमा गर्ने ग्रह पनि समावेश छन्, जसले २४ घण्टाभन्दा कम समयमा आफ्ना ताराको एक फन्को पूरा गर्छन् । साथै ‘नेप्च्यूनियन डेजर्ट’ क्षेत्रमा रहेका दुर्लभ ग्रहसमेत यसमा समेटिएका छन् ।