फागुन १८, काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले सोमबार इजरायली सरकारी तथा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। इरानी राज्य सञ्चारमाध्यम इर्नाका अनुसार, तेल अभिभस्थित बेन्जामिन नेतान्याहुको कार्यालय, हाइफाका सुरक्षा केन्द्रहरू तथा पूर्वी जेरुसेलमका केही स्थलहरू निसानामा परेका छन्।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायली शासनका अपराधी प्रधानमन्त्रीको कार्यालय र उक्त शासनको वायुसेना कमान्डरको मुख्यालयलाई निसाना बनाइएको छ।”
यसैबीच, इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीईको शनिबार संयुक्त अमेरिकी–इजरायली आक्रमणमा मृत्यु भएको दाबीपछि तेहरानले बदलाको कारबाहीस्वरूप १० चरणसम्म क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सुरु गरिएको जनाएको छ। इरानी पक्षले यसलाई ‘कानुनी आत्म–रक्षा’को कदम भनेको छ।
इजरायलको प्रतिक्रिया
हालसम्म इजरायलले प्रधानमन्त्रीको कार्यालयमा प्रत्यक्ष प्रहार भएको पुष्टि गरेको छैन। इजरायली सेनाले भने इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरिएको र रक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ।
एएफपीका पत्रकारहरूका अनुसार सोमबार जेरुसेलम क्षेत्रमा पुनः विस्फोटका आवाजहरू सुनिएका थिए। इजरायली सेनाले विज्ञप्ति जारी गर्दै भन्यो, “केही समयअघि आईडीएफले इरानबाट इजरायल राज्यतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको छ। खतरालाई रोक्न रक्षा प्रणालीहरू सक्रिय रहेका छन्।”
क्षेत्रीय तनाव चर्किँदै
तेहरानले इजरायली भूभागसँगै क्षेत्रमा रहेका अमेरिकी आधार इलाकाहरूलाई पनि क्रमिक रूपमा निसाना बनाइरहेको दाबी गरेको छ। पछिल्लो घटनाक्रमसँगै मध्यपूर्वमा तनाव थप चर्किएको छ।
यस घटनाबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ भने दुवै पक्षका दाबी–प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।