पौष १३, काठमाडौं । जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको छ । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रको शाखा मुस्ताङ सामुदायिक आँखा केन्द्र जोमसोमले सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म चार हजार २१० जनाको आँखा परीक्षण गरेको हो ।

सन् २००९ देखि सामुदायिक आँखा केन्द्रले यहाँ आँखासम्बन्धी सेवा प्रवाह दिँदै आएको छ । आज यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समीक्षा तथा वार्षिक लेखापरीक्षण समीक्षा बैठकमा केन्द्र प्रमुख एवं नेत्र अधिकृत रमिला नेपालीले कार्यप्रगतिबारे जानकारी दिनुभयो ।
उहाँले स्थापनाकालदेखि १६ वर्षको अवधिमा जिल्लामा १८ हजारभन्दा बढीको आँखा परीक्षण र ५३५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।
नेत्र अधिकृत नेपालीले भन्नुभयो,“हामीले स्थानीय नागरिकलाई चौबिसै घण्टा ‘इमरजेन्सी’ सेवा प्रवाह गरिरहेका छौँ । बहिरङ्ग सेवा (ओपिडी) तर्फ दृष्टि परीक्षण, आँखा जाँच, चस्मा जाँच, सुपथ मूल्यमा चस्मा बनाउने र औषधि सेवा दिनेलगायत काम भइरहेका छन् । यसका साथै बर्सेनि नेत्र रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको सहयोगमा जिल्लाका पाँचैवटा स्थानीय तहमा आलोपालो आँखाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएका छौँ ।”
केन्द्रमा हाल एक जना नेत्र अधिकृत र एक जना अप्टिकल फिडरलगायत कर्मचारी कार्यरत छन् ।