• २०८३ जेष्ठ २० गते बुधवार

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था स्थिर

अफवाह नफैलाउन परिवारको आग्रह
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २५, काठमाडौं । भारतीय चलचित्रका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य बिग्रिएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सार्वजनिक भएपछि प्रशंसकदेखि बलिउड कलाकारहरू समेत चिन्तित बनेका छन् र अनेकले अस्पताल पुगेर स्वास्थ्यबारे जानकारी लिएका छन् ।

यसैबीच, धर्मेन्द्रका छोरा तथा अभिनेता सनी देओलले एक विज्ञप्ति जारी गर्दै पिताको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । उनले निरन्तर अस्पतालको निगरानीमा राखिएको उल्लेख गर्दै अफवाह नफैलाउन सबैसँग आग्रह गरेका छन् ।

सनी देओलको टिमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘धर्मेन्द्रजी स्थिर छन् र चिकित्सकीय अवलोकनमा रहेका छन् । स्वास्थ्यसम्बन्धी थप जानकारी उपलब्ध हुँदै जाँदा साझा गरिनेछ। कृपया कुनै गलत हल्ला नफैलाउनुहोस्। उहाँको छिटो स्वास्थ्य लाभको कामना गर्न अनुरोध गर्दछौं र परिवारको गोपनीयताको सम्मान गरिदिनुहोस् ।’

यसअघि सोमबार धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री–राजनीतिज्ञ हेमा मालिनीले समेत सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्था बारे जानकारी दिँदै सबैलाई चाँडै निको होओस् भनी प्रार्थना गर्न अनुरोध गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘धर्मजी अवलोकनका लागि अस्पतालमा हुनुहुन्छ। लगातार निगरानीमा राखिएको छ र हामी सबै उहाँसँगै छौ ं। उहाँको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरिदिनुहोस्।’

सोमबार साँझ सनी देओल, बॉबी देओल, करण देओल र राजवीर देओललगायत परिवारका सदस्यहरू अस्पताल पुगेका थिए । साथै, सलमान खान, गोविन्दा, अमीषा पटेललगायत बलिउड कलाकारहरू पनि धर्मेन्द्रलाई भेट्न पुगेका छन् ।
धर्मेन्द्रले ‘शोले’, ‘सीता और गीता’, ‘जुगनु’, ‘फूल और पत्थर’, ‘यादों की बारात’, ‘धर्म वीर’ लगायतका अनेक हिट चलचित्रमा अभिनय गर्दै बलिउडमा अमिट पहिचान बनाएका छन् ।

२०२३ मा उनी करन जोहर निर्देशित ‘रक्की और रानी की प्रेम कहानी’मा देखिएका थिए। अब उनले ‘इक्कीस’ नामक फिल्ममा अभिनय गर्नेछन् ।

भारतीय मिडियामा आएको रिपोर्टमा आधारित भएर बलिवुड अभिनेता धर्मेन्द्रको निधन भएको समाचार यसअघि प्रकाशित गरिएकोमा धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री हेमामालिनी र उनकी छोरी इशा देओलले धर्मेन्द्रको हाल उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको जानकारी दिएकोले सो समाचार हटाइएको छ । यसप्रति क्षमायाचना गर्दै भविष्यमा यस्तो गल्ति नहुने प्रतिबद्धता व्यक्त गर्दछौं । – सम्पादक

Sharing

प्रतिक्रिया दिनुहोस