साउन २३, पोखरा । साढे ६ किलो अवैध सुनका गहनासहित पोखराबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन् । कास्की प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरूको साथबाट ६ किलो ४ सय ग्राम अवैध सुन र ४ सय ४४ तोला चाँदी बरामद भएको प्रहरीले शनिवार जनाएको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका राजेन्द्र रामचन्द्र जगताप, कोलकत्ताका मनिक लाल आदक, पश्चिम बंगालका सन्दिप ढाव, सोमनाथ पाल, दीपक सामन्त, गोविन्द दिण्डा, असित वर, तापस सामन्त, उज्ज्वल भौतिक, सुनिता पवार, प्रोभास माझी छन् ।
पक्राउ परेकामध्ये राजेन्द्रको साथबाट सुन ११ तोला २०.६ लाल, चाँदी २ सय ९६ तोला ३३ लाल, नगद १ लाख ६० हजार ५ सय बरामद भएको छ । मनिकको साथबाट सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल, सन्दिप ढावको साथबाट सुन ३ तोला ८ लाल, सोमनाथ पालको साथबाट सुन १२ तोला १२.७ लाल, चाँदी ९ तोला ५९.४ लाल, दीपक सामन्तको साथबाट सुन ३८ तोला ५ लाल, चाँदी ३० तोला ११ लाल र गोविन्द दिण्डाको साथबाट सुन २ सय १० तोला ८९ लाल बरामद भएको प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
यस्तै, असित वरको साथबाट ८६ तोला ८७.१ लाल सुन र ३१.५ लाल चाँदी, तापस सामन्तको साथबाट २४ तोला १५ लाल सुन, उज्ज्वल भौमिकको साथबाट ५ तोला ४६.९ लाल सुन, सुनिता पवारको साथबाट २ तोला ५० लाल सुन र ९३ तोला ६१ लाल चाँदी तथा प्रोभास माझीबाट ८८ तोला ३१ लाल सुन र नगद १ लाख ८५ हजार बरामद भएको ओलियाले जानकारी दिए ।
प्रहरीले सञ्जय ढाव नामका अर्का व्यक्तिको साथबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १५५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ । ‘अपरेसन एलो मेटल’ को उक्त कारबाहीबाट प्रहरीले ठुलो सफलता हात पारेको ओलियाले बताए ।
पक्राउ परेका अधिकांश सुनचाँदी व्यवसायमा संलग्न कालिगडहरू हुन् । बरामद गरिएको सुनको बजार मूल्य अनुसार करिब १० करोड ९८ लाख रुपैयाँ र चाँदीको मूल्य करिब १० लाख २८ हजार रुपैयाँभन्दा बढी छ । सबैलाई बरामद गरिएका सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने एसपी ओलियाले जानकारी दिए ।