वैशाख २१, काठमाडौं । रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लवकुमार सिंहविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो ।

अदालतको फैसला अनुसार दर्ता-खारेजी पूर्जी जारी गरी रोक्का रहेको जग्गा फुकुवा गराइदिने क्रममा उनले घुस मागेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा डिठ्ठा सिंहले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी ५० हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार ५० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना सजाय माग गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।