साउन २०, नवलपुर । नेवाः देय् दबू नवलपुरले नेवारहरुका सांस्कृतिक तथा मौलिक पर्व गाइजात्राको दिन नवलपुरमा सार्वजनिक विदा दिन माग गरेको छ ।

नेवाः देय् दबू नवलपुरको आज कावासोतीमा बसेको जिल्ला समितिको वैठकले यस्तो माग गरेको नेवाः देय् दबू नवलपुरका जिल्ला सचिव रामकुमार श्रेष्ठले जानकारी दिए । यस बर्षको गाइजात्रा पर्व साउन २५ गते आइतबारका दिन परेको छ । यो पर्वका दिन बागमति प्रदेश सरकारले प्रदेशभरी सार्वजनिक विदा दिने गरेको छ भने देशका केही पालिकाहरुले पनि सार्वजनिक विदा दिने गर्दछन् । यसका लागि प्रत्येक पालिकामा डेलिकेशन जाने निर्णय गरिएको नेवाः देय् दबू नवलपुरका जिल्ला अध्यक्ष मित्रलाल श्रेष्ठले जानकारी दिए । त्यसैगरी नेवाः समुदायको लाखे नाँच, रोपाई जात्रा, कृष्ण जात्रा, घोडे जात्रा, गाइजात्रा जस्ता पर्वहरु आइरहेकोले उक्त पर्वहरु सक्रिय रुपमा मनाउने निर्णय समेत गरेको छ ।
त्यसैगरी वैठकले साउन २४ गते परेको विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघसँग सहकार्य गरेर सक्रिय सहभागिताका साथ मनाउने निर्णय गरेको छ ।