साउन १, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व–२०८२ को अवसरमा शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटर(एक्स) पेजमार्फत आज शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले ‘साउने संक्रान्ति’ प्रकृति, मौसम, कृषि प्रणाली र सामूहिक जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताउनु भएको छ । पूर्वराष्ट्रपति भण्डारीले श्रावण महिनाको पहिलो दिन मनाइने यस पर्वले हाम्रा परम्परागत ज्ञान, जैविक चेतना र सांस्कृतिक मूल्यहरूको पुनस्स्मरण गराउँने बताउनु भएको छ ।
उहाँले भन्नुभएको छ, “असार महिनाको अन्त्यसँगै खेतीपातीको धपेडीकै बीच श्रावण महिनाको पहिलो दिन मनाइने यस पर्वले हाम्रा परम्परागत ज्ञान, जैविक चेतना र सांस्कृतिक मूल्यहरूको पुनस्स्मरण गराउँदछ ।”
त्यस्तै, उहाँले ‘लुतो फाल्ने’ लोक परम्परा छालासम्बन्धी रोगविरुद्धको जनविश्वाससँग मात्र नभई वनस्पति संरक्षण, जैविक विविधताको सम्मान र समुदाय बिच सहकार्यको प्रतीकका रूपमा पनि महत्वपूर्ण भएको बताउनु भएको छ । यस्ता चाडहरूले हामीलाई संस्कृति जोगाउन र प्रकृतिसँग जोडिन प्रेरणा दिने बताउनु भएको छ ।
