असार १४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टिका ढकालका अनुसार नियमित ब्रिफिङका सिलसिलामा शीतल निवासमा बेलुकी साढे ५ देखि साढे ६ बजेसम्म भएको भेटमा जनाए ।

राष्ट्रपति भण्डारीले जनसरोकार र राष्ट्रियतासँग सम्बन्धित विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । मनसुनको सिजन सुरु भएर बाढी–पहिरोका खबर आउन लागेको भन्दै उनले सबै सरकारको तयारीबारे जिज्ञासा राखिन् । जवाफमा देउवाले सरकारका निकायहरू अलर्ट अवस्थामा रहेको बताए ।
यस्तै, राष्ट्रपतिले काठमाडौं उपत्यकामा हैजा देखिएको अवस्थामा यसलाई फैलिन नदिन आवश्यक सतर्कतामा जोड दिइन् । काठमाडौंका सार्वजनिक तथा निजी सबै स्वास्थ्य संस्था र स्थानीय तहहरूबिच समन्वय गरेर जान उनको सुझाव थियो । प्रधानमन्त्रीले यसमा सबैसँग सरसल्लाह गर्ने भन्दै जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखिने प्रत्याभूति गराएका छन् । राष्ट्रपतिले खेतीको समयमा किसानहरूले भोग्दै आएको मल तथा बिउबिजनको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिन् । देउवाले यो समस्या समाधानमा पनि सरकार गम्भीर रहेको बताएका थिए ।
भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो समय चर्चामा रहेको एसपीपीका विषयमा पनि चासो राखेको स्रोतको दाबी छ । उनले ‘एसपीपी’ को उच्चारण नगरीकन नेपालको असंलग्न परराष्ट्र नीतिमा आँच आउन दिनु नहुनेबारे प्रधानमन्त्रीलाई सम्झाएकी थिइन् । जवाफमा प्रधानमन्त्रीले एसपीपीको विषयमा सबै दलहरूबिच समान धारणा रहेको भन्दै यसको समाधान भइसकेको प्रस्ट पारेका छन् । ‘संविधानमा उल्लेखित नेपालको परराष्ट्र नीतिअनुसार अगाडि बढ्न सरकार प्रतिबद्ध छ’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजनीतिक दलहरूलाई विश्वासमा लिएर सरकार अघि बढ्छ ।’ स्रोतका अनुसार उनले घुमाउरो तरिकाले सरकार एसपीपीमा अघि नबढ्ने जनाउ दिएका छन् ।
यस्तै, राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् । संसद्मा पेस भएको महाअभियोग प्रस्तावलाई छिटो निकास दिनुपर्नेमा उनको जोड रहेको स्रोतले बताएको छ । ‘प्रस्ताव दर्ता गरिसकेपछि छलफलमै नलैजानु प्रजातान्त्रिक हुँदैन,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । यसमा देउवाले ठोस जवाफ दिएनन् ।