आज वि.सं. २०८२ ज्येष्ठ २२ गते बिहीवार तदनुसार ई. सं. २०२५ जुन ०५ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रोदय : दिउँसो ०१:३२ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:५९ बजे, सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) दशमी तिथि, भोलि बिहान ०३:३६ बजेसम्म, त्यसपछि एकादशी तिथि, उत्तराफाल्गुनी नक्षत्र, बिहान ०५:५४ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । नयाँ ज्ञान वा कुनै सीप सिक्न दिलचस्पी जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला । लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो । कुनै विशेष ठाउँमा अन्तर्वार्ता दिने हो भने आजको प्रयास फलदायी बन्नेछ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । स्वास्थ्यस्थितिमा पनि कमजोरीको आभास हुनेछ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ