• २०८३ असार ७ गते आइतवार

नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १८, काठमाडौं । नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको दोस्रो अभ्यास खेल नतिजाविहीन भएको छ । शनिबार स्कटल्याण्डमा दोस्रो इनिङमा निरन्तर वर्षा भए पछि खेल नतिजाबिहिन हुन पुगेको हो ।

पहिलो अभ्यास खेलमा लज्जास्पद प्रदर्शन गरेको नेपालले दोस्रो अभ्यास खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो । २ सय ५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ‘ए’ ले १३ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन बनाएकाे अवस्थामा वर्षा सुरू भएको थियो । वर्षा भारी बन्दै गएपछि खेल नतिजाविहीन रुपमा सकिएको हो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो । पहिलो खेलमा लज्जास्पद ब्याटिङ गरेको नेपालका लागि यस खेलमा कप्तान रोहितकुमार पौडेलसहित तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।

गुलशन झाले ४७ बलमा ३ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । कप्तान रोहितले ७० बलमा ५ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । भीम सार्की ५७ बलमा ७ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । ओपनर कुशल भुर्तेल ३१ रनमा आउट हुँदा सन्दीप लामिछाने १७ रनमा अविजित रहे ।

स्कटल्यान्ड ‘ए’ का जेम्स डकिनसन, मैन र डेभिडसनले समान २ विकेट लिए । पहिलो खेलमा नेपालले १ सय २ रनको लज्जास्पद हार बेहोरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस