• २०८३ बैशाख २९ गते मङ्गलवार

तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २१, काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले युवामन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।

प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । १ अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण हुन लागेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। तस्बिरः सुरेश आचार्य / रासस

समिति सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापनको कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न र भव्यताका साथ तोकिएकै मितिमा खेलकुद प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । प्रतियोगिता आगामी २०८२ जेठ ३ देखि १० सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ ।

युवामन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले खेलाडीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले सुशासन, व्यवस्थापनमा केही कठिनाइ आउने भन्दै त्यसलाई नै मध्यनजर गरेर काम भइरहेको उल्लेख गर्नुभयो ।

समिति सदस्य रेखा शर्माले जुनसुकै हालतमा प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो । समिति सदस्य दीपा शर्माले खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि मन्त्रालय, राखेपबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य रामप्रकाश चौधरीले खेलकुद सम्पन्न गर्नका लागि मन्त्रालय र राखेपबीच तालमेल नमिलेको भन्दै समयमा नै प्रतियोगिता गर्नुपर्ने बताउनुभयो ।

समितिले प्रतियोगिताको तयारी र व्यवस्थापनको बारेमा यहीँ चैत २२ देखि २४ गतेसम्म स्थलगत अवलोकन गरी जानकारी लिने सभापति थापाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस