• २०८३ बैशाख ८ गते मङ्गलवार

शिव भगवानको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८१ चैत्र १८ गते सोमवार तदनुसार ई. सं. २०२५ मार्च ३१ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, चन्द्रोदय : बिहान ०७:२२ बजे र चन्द्रास्त : साँझ ०७:१९ बजे, सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:२० बजे, चैत्र शुक्लपक्ष (चौलाथ्व) द्वितीया तिथि, दिउँसो १२:२२ बजेसम्म, त्यसपछि तृतीया तिथि, अश्विनी नक्षत्र, साँझ ०५:०६ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । अनियमित र बेठिक कामका कारण चिन्तित बन्नुपर्ने समय छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । परिणामप्रति आशावादी भइने छ । कार्यक्षेत्र वा बन्दव्यापारमा राम्रो छ । महत्त्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । भाग्यले साथ दिने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुने तथा गरेका काममा भाग्यले साथ दिने समय हो, आज दाम्पत्यजीवन र प्रेमसम्बन्धका लागि समेत राम्रै देखिन्छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस