• २०८३ बैशाख ५ गते शनिवार

भृकुटीमण्डपमा ’क्यान इन्फोटेक’ शुरू, प्रदर्शनीमै राष्ट्रिय परिचयपत्रसमेत बनाउन सकिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २४, काठमाडौं । सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा रहेको क्यान इन्फोटेक आजदेखि शुरू भएको छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासङ्घको आयोजनामा आजदेखि काठमण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ शुरू भएको हो ।

इन्फोटेकको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । सूचना प्रविधिको प्रदर्शनी भएकाले एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर कार्यक्रमको उद्घाटन भएको छ ।

क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नवीनतम प्रविधि र स्थानीय बजारको माग अनुसार विकास भएका प्रतिभा तथा आविष्कारहरूलाई प्रस्तुत गरिएको क्यानले जनाएको छ । क्यान महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रदर्शनीमा राखिएका नवीनतम प्रविधि र आविष्कारहरूले देशको डिजिटल प्रविधि क्षेत्रमा ठूलो योगदान पु¥याउने बताउनुभयो । यस पटक मुख्य आकर्षणमा ह्युमनाइड रोबोटदेखि सेल्फ ड्राइभिङ कारसम्म रहेको क्यानले जनाएको छ । यस संस्करणमा १ सय ५० वटा स्टल रहेका छन् ।

यसैबीच क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रविष्टको सुविधा रहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले क्यान इन्फोटेकमा छुट्टै दर्ता स्टेशन सञ्चालन गरी यो सेवा दिएको हो । दर्ता स्टेशनमा सेवाग्राहीले आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराएपछि तत्कालै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सक्नेछन् । काठमाण्डौमा रहेका नेपालका जुनसुकै जिल्लाका नागरिकले क्यान इन्फोटेकमा पुगेर राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक दिन सक्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस