• २०८३ बैशाख १८ गते शुक्रवार

जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न आदेश दिनुभएको छ । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरुआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गर्नुभएको हो ।

यो आदेशको पालनाका लागि सङ्घीय एजेन्सीहरूलाई ३० दिनको समय दिइएको छ । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको बीबीसीले जनाएको छ ।

जन्ममा आधारित नागरिकता अमेरिकी संविधानको १४औं संशोधनको लामो समयदेखिको व्याख्या हो र ट्रम्पको नयाँ कदमलाई यो व्याख्या अन्त्य गर्ने पहलका रूपमा हेरिएको छ ।

शपथ ग्रहणलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ओभल अफिसमा धेरै आदेशमा हस्ताक्षर गरेकामध्ये एउटा यो आदेश थियो । यसमध्ये झन्डै ८० वटा आदेश पूर्वराष्ट्रपति जो बाइडेनको आदेश रद्द गर्ने सम्बन्धमा थिए ।

यसअघि आफ्नो भाषणमा ट्रम्पले सबै अवैध प्रवेश रोक्ने वाचा गर्दै लाखौं आपराधिक विदेशीहरूलाई सुपुर्दगी गर्ने कुरा पनि उल्लेख गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस