वैशाख २२, काठमाडौं । रोशी खोलामा फसेका ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ । अविरल वर्षापछि सोमबार साँझदेखि रोशी खोलाको बहाव बढ्दा पाँच वटा माइक्रोबस बीच धारमा अड्किएका थिए । ती सवारीमा सवार ८९ जना यात्रुलाई सुरक्षा निकायको संयुक्त प्रयासमा गएराती करिब १ बजे उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

घटनाका क्रममा जोखिम बेवास्ता गर्दै सवारी चलाएको आरोपमा पाँचै माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाल बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । प्रहरीले वर्षायाममा विशेष सावधानी अपनाउन आग्रह गर्दै विशेष गरी बीपी राजमार्ग प्रयोग गर्दा पूर्व जानकारी लिएर र सुरक्षाकर्मीको सुझाव पालना गर्दै यात्रा गर्न अनुरोध गरेको छ ।