• २०८३ जेष्ठ १० गते आइतवार

नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ५, काठमाडौँ ।नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । नेदरल्यान्ड्सका अलराउन्डर लीडलाई टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ ।

उनले नेदरल्यान्ड्का लागि ३८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ६ सय ९७ रन बनाउनुका साथै ३३ विकेट लिएका छन् । बास डे लीडलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।

एनपीएलका लागि पोखराले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौस पोखरामा अनुबन्ध भएका थिए । नेपाली राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् ।

पाकिस्तानका अलराउन्डर तलातले कर्णाली याक्सबाट खेल्ने
पाकिस्तानका अलराउन्डर हुसैन तलातले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । पाकिस्तानका अलराउन्डर तलातलाई टोलीमा अनुबन्ध गरेको कर्णाली याक्सले जनाएकाे छ । उनले पाकिस्तानका लागि १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ९४ रन बनाउँदै ४ विकेट लिएका छन् ।

हुसैन तलातलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले टाेली थप बलियाे बन्ने विश्वास लिएकाे बताएका छन् । कर्णाली याक्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टाेलीका अलराउन्डर सोमपाल कामी छन् ।

स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने
सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी–२० मा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस