भाद्र २, रौतहट । रौतहट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । साथै प्रहरीले रौतहटबाट चोरिएका मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने गरेको ग्यारेज बाराको कोलहवीमा फेला पारेको छ ।

साउन ३१ गते राती २ बजे वृन्दावन नपा–३ का सोनालाल प्रसाद यादवको ना ४६ प २२८२ नम्बरको २२० सिसीको कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको घटना अनुसन्धान गर्दै जाँदा रौतहट प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको हो ।
सोही घटनाबारे जिल्ला प्रहरी कार्यालय गौरमा दिएको जानकारी र बिषेश सूचनाको आधारमा घटनाको भोलिपल्ट साउन ३२ गते खटिएको अपराध अनुसन्धान टोली र स्थानीय प्रहरीको सहयोगमा बाराको कोलहवी–९ श्रीपुरस्थित एउटा ग्यारेजमा छापा मारेको थियो ।
छापा मार्ने क्रममा ग्यारेजमा मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गर्ने चोर गिरोहमध्ये तिनजनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । पक्राउ पर्ने तिनैजना मोटरसाइल चोरहरु रहेको खुल्न आएको छ ।
रौतहट फतुआ विजयपुर–११ का १९ वर्षीय कमल चौधरी, सोही ठाँउका २३ वर्षीय अरुण चौधरी र २७ वर्षीय अकिलेश चौधरी पक्राउ परेका हुन । उनीहरुको साथबाट स्वरुप परिवर्तन गरिएको एउटा मोटरसाइकल र अन्य मोटरसाइकलको विभिन्न पार्टपुर्जा बरामद गरिएको छ । उनिहरुले रौतहटबाट ३ वटा मोटरसाइकल चोरी गरेको स्वीकारेको छन् ।
उनीहरुले गत असार १९ गते चन्द्रपुर–४ बाट ना ६२ प ९४९० नम्बरको कालो रंगको २२० सिसिको पल्सर मोटरसाइकल, ०२३–००१ प ४२२० नम्बरको १५० सिसिको कालो पल्सर र बिआर ३० यु ६६०६ नम्बरको १५० सिसिको कालो पल्सर चोरेको प्रहरी समक्ष बयान दिएका छन् ।