
उत्तरी टापुको अति दक्षिणी बिन्दु केप प्यालिसर नजिकैको न्गावी तटमा कम्तीमा २० पाइलट ह्वेल अलपत्र परेको संरक्षण विभागले जनाएको छ। विभागले स्थानीय इवी (माओरी जनजाति) र फसेका ह्वेलहरूको उद्धार गर्ने विशेषज्ञ समूह ‘प्रोजेक्ट जोनाह’सँगको सहकार्यमा काम गरिरहेको बताएको छ। अहिलेसम्म दुई वटा ह्वेललाई सफलतापूर्वक पुनः समुद्रमा फर्काइएको छ।
रेडियो न्युजिल्यान्डका अनुसार स्थानीयहरूले रातभर तटीय क्षेत्रमा ५० वटा ह्वेल अलपत्र परेको बताएका छन्। धेरैजसो ह्वेलको चोटपटक लागेर मृत्यु भइसकेको छ भने स्वयंसेवकहरूले पानी र तौलियाको प्रयोग गरी जीवित रहेका ह्वेलहरूलाई ओसिलो र जीवित राख्ने प्रयास गरिरहेका छन्।
“यो निकै भयावह छ। जीवित रहेकाहरू पनि अन्तिम सास फेर्दै छन्,” न्गावी (Ngawi) का स्थानीय बासिन्दा रब बार्घले रेडियो न्युजिल्यान्डलाई बताए।
बिहीबार फेसबुकमा गरिएको एक पोस्टमा ‘प्रोजेक्ट जोनाह’ ले चार वटा ह्वेल अझै जीवित रहेको र समुद्रमा पानीको सतह बढ्ने समय (high tide) मा तिनलाई पुनः पानीमा फर्काउने प्रयास गरिने जनाएको छ।
न्युजिल्यान्ड र छिमेकी अस्ट्रेलियामा ह्वेल तटमा अड्किने घटनाहरू सामान्य मानिन्छन्। यसको मुख्य कारण यी दुवै टापु राष्ट्रलाई घेरेर रहेका गहिरा महासागरहरूमा ‘पाइलट ह्वेल’ (pilot whale) को ठूलो सङ्ख्यामा उपस्थिति हुनु हो। यद्यपि, ह्वेलहरू किन यसरी अचानक तटमा अड्किन्छन् भन्ने यकिन कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन।