• २०८३ कार्तिक २१ गते शुक्रवार

नोभेम्बर ६ मा विश्वः अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
कात्तिक २०, काठमाडौं । नोभेम्बर ६ का दिन विश्व इतिहास र राजनीतिमा अनेकौँ महत्त्वपूर्ण तथा ठूला परिवर्तनकारी घटनाहरू घटेका छन्। यस दिनसँग जोडिएका प्रमुख राजनीतिक तथा ऐतिहासिक घटनाहरू मध्ये  अमेरिकाका  १६औँ राष्ट्रपति तथा दासप्रथा अन्त्यमा ऐतिहासिक भूमिका खेलेका अब्राहम लिंकन पहिलो पटक सन् १८६० नोभेम्बर ६ का दिन अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति निर्वाचित (सन् १८६०): अमेरिकाका १६औँ राष्ट्रपति तथा दासप्रथा अन्त्यमा ऐतिहासिक भूमिका खेलेका अब्राहम लिंकन पहिलो पटक सन् १८६० नोभेम्बर ६ का दिन अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनको यो जितले अमेरिकी राजनीतिमा ठुलो हलचल ल्यायो र यसैको परिणामस्वरुप अमेरिकी गृहयुद्धको सुरुवात भएको थियो।

रुसी बोल्सेविक क्रान्तिको सुरुवात (सन् १९१७): भ्लादिमिर लेनिनको नेतृत्वमा बोल्सेविक क्रान्तिकारीहरूले पेट्रोग्राद (हालको सेन्ट पिटर्सबर्ग) मा निर्णायक कदम चाल्दै सन् १९१७ नोभेम्बर ६ का दिन रुसमा क्रान्तिको सूत्रपात गरेका थिए। यस विद्रोहमार्फत त्यहाँको तत्कालीन सरकारलाई उखेलेर फालियो, जसले विश्वको पहिलो साम्यवादी (कम्युनिष्ट) राज्य स्थापनाको बाटो खुलायो।

संयुक्त राष्ट्रसंघद्वारा दक्षिण अफ्रिकाको रंगभेद नीतिविरुद्धको निन्दा (सन् १९६२): संयुक्त राष्ट्रसंघको महासभाले सन् १९६२ नोभेम्बर ६ का दिन दक्षिण अफ्रिकामा व्याप्त रंगभेद नीतिको आधिकारिक रूपमा कडा शब्दमा निन्दा गरेको थियो। साथै, दक्षिण अफ्रिकाविरुद्ध कूटनीतिक तथा आर्थिक प्रतिबन्ध लगाउन आह्वान गर्दै विश्वव्यापी रूपमा रंगभेदविरुद्धको संघर्षलाई तीव्रता दिएको थियो।

रोनाल्ड रेगन भारी बहुमतले पुनः राष्ट्रपति निर्वाचित (सन् १९८४):संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले सन् १९८४ नोभेम्बर ६ मा भएको राष्ट्रपतीय निर्वाचनमा वाल्टर मोन्डालेलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि ऐतिहासिक जित हासिल गरेका थिए। उनले अमेरिकाका ५० वटा राज्यमध्ये ४९ वटा राज्यमा जित हासिल गर्दै अमेरिकी निर्वाचन इतिहासकै एक कीर्तिमानी विजय हात पारेका थिए।

कन्फेजेरेट स्टेट्स अफ अमेरिकाको राष्ट्रपतिमा जेफरसन डेभिसको चयन (सन् १८६१): अमेरिकी गृहयुद्धको समयमा अमेरिकाबाट छुट्टिएर बनेको दक्षिणी राज्यहरूको संघीय गठबन्धनको आधिकारिक राष्ट्रपति सन १८६१ नोभेम्बर ६ का दिन जेफरसन डेभिस निर्वाचित भएका थिए।

पहिलो विश्वयुद्ध अन्तर्गत पास्चेन्डाएलको लडाइँ समाप्त (सन् १९१७): पहिलो विश्वयुद्धको सबैभन्दा रक्तपातपूर्ण र लामो लडाइँमध्ये एक मानिने ‘तेस्रो येप्रेस् लडाइँ’ को अन्त्य गर्दै सन् १९१७ नोभेम्बर ६ का दिन बेलायती तथा क्यानाडाली फौजले बेल्जियमको पास्चेन्डाएल गाउँ नियन्त्रणमा लिएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस