• २०८३ जेष्ठ ३० गते शनिवार

सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। ‘उहाँलाई प्रहरीले निगरानीमा राखेको थियो आज पक्राउ गरिएको छ, भर्खरै काठमाडौं पठाइएको छ,’ रुपन्देहीका एक प्रहरी अधिकृतले भने।

पूर्वसभामुख समेत रहेका महरा रोल्पा जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि लागेको छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मु‍द्दा चलाउन सिफारिस गरेको थियो।

जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुगेको छ। यसअघि सीआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागज मात्रै गराएर छाडेको थियो। सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन्।

महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटक-पटक कुराकानी भएको सीआइबीकै अनुसन्धानमा देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको ९ किलो सुन भएको भेप बरामद गरेपछि महरा बाबु-छोराले पटक पटक भन्सार कार्यालय प्रमुखलाई सम्पर्क गरी छुटाउन दबाब दिएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस