• २०८३ जेष्ठ २२ गते शुक्रवार

खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १४, चितवन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती, चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान, मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङ, रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका, गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङ, चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतान, मकवानपुरको मनहरी नगरपालिका–७ ज्यामिरे घर भई हाल चितवनको माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ रहेका छन ।

विभागका महानिर्देशक ढुङ्गानाका अनुसार पक्राउ परेकाको साथबाट दुई थान गैँडाको खाग, भरुवा बन्दुक एक थान, बिँड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ । गएको कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रस्थित कोर ईलाकामा दुई वटा पोथी गैँडालाई खाडल खनी मारेर खाग लगेको अवस्थामा भेटिएका थिए ।

उक्त घटनाको अध्ययन गरी सुझाव पेश गर्न वन तथा वातावरण मन्त्रालयबाट मङ्सिर १ गते विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रतिनिधि, कानुन अधिकृतसहितको पाँच सदस्यीय छानबिन टोली गठन भई स्थलगत अध्ययन अनुसन्धान पश्चात् तयार भएको छानबिन प्रतिवेदन विभागमा बुझाइएको छ । पत्रकार सम्मेलनमा ढुङ्गानाले प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने प्रतिबद्धता व्यक्त गरे । संरक्षित वन्यजन्तुको चोरी शिकारलाई विभागले गम्भीर रुपमा लिएको भन्दै देखिएका कमिकमजोरीलाई सुधारी सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक समन्वय गरिसकेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस