• २०८३ जेष्ठ २३ गते शनिवार

‘कठघराको बयान: अनि, मलाई दशैं आउँदैन’

सुबिन विश्वकर्मा 'लुते' पढ्न लाग्ने समय : २ मिनेट

श्रीमान्
मलाई यसपालि पनि दशैं आएन
किनकि
म छोरी हुँ
कसैकी बुहारी हुँ
अनि
कसैकी आमा पनि हुँ
बोनस सहितको विभेद नशिव छ मलाई
महिनावारीलाई पाप मान्ने हिन्दु समाजले
दशैंमा भान्सा पस्न दिँदैन
पुजाआजा गर्न पाउनु त परको कुरा भैगो
टीका लगाउँनसम्म पनि दिँदैन
त्यसैले
मेरो लागि दशैं आउँदैन

आधुनिक पितृसत्तात्मक समाजले
पुरूषलाई
जाँड-रक्सी खाँदै जुवा-ताँस खेल्न लादेको छ
गफ चुट्दै घुमफिर गर्नुलाई अनिवार्यता ठानेको छ
पुरुषलाई रमाइलो थप्दिने यो दशैंले
मलाई कामको धपेडी थपिदिएको छ
मेरो त दशैं भन्नू नै
कमेरो र रातोमाटो लिन जंगल धाउनु
घर-आँगनको लिपपोत गर्नु
पाहुँनाको स्याहार गर्नु
थरिथरिका खानेकुरा बनाइदिनुदेखि
थपिएको,
घरधन्दाको लोड ब्यहोर्नु बाहेक अरू के नै हो र ?

मैले दशैंको टिकासँगै
आशीर्वाद पनि पाएकी छु- ‘छोरी धरती हुनुपर्छ’
धरती अर्थात सहनशीलता
अर्थात
‘जे पनि सहनैपर्ने’
लोग्नेको पिटाइ पनि सहनैपर्ने
सासुको गाली पनि सहनैपर्ने
कामको धपेडी भन्न पनि नपाउनुपर्ने
अनि
महिनावारीलाई पाप होइन भन्न पनि नपाउनुपर्ने
किनकि
मान्यजनको आशिष शिरोधार्य गर्नु जो छ- ‘जेपनि सहनैपर्ने’

सबैलाई खुसी लिएर आउने दशैंले
मेरो त खुसी नै कहाँ हेर्यो र ?
मैले घरको काम सम्हालिदिन्छु
र त लोग्नेले घुमघाम गर्दै दशैं बिदा मनाउन पाउनुभएको छ
आफू माइत नगई सबैथोक ब्यहोरिदिएकी छु
र त नन्द-आमाजू माइत आउन पाएका छन्
आफू नभनी परिवार सबैसबैको खुसीलाई राखिदिएकी छु
र त परिवारको दशैं रमाइलो भएको छ
खै,
मेरो लागि त कहिले आउला र, दशैं ?

श्रीमान्
म कामी हुँ
वर्षभरी श्रम गर्छु
अनि
‘यौटा पुच्छर’ मा श्रम बेच्छु
विष्टको घरबाट
मैले अपमानको ‘भाग’ बोकेर ल्याएको छु
खै,
मेरो लागि त दशैं भन्नू नै
यिनै अपमान, श्रमशोषण र विभेदको पर्याय भएको छ
त्यसैले
मेरो लागि दशैं आउँदैन

श्रीमान्
म जनजाति हुँ
म मेरो इतिहास सम्झिँन्छु
आफू हुन खोज्दा घाँटी रेटिएका
धनकुटाका रामलिहाङ र रिदामालाई सम्झिँन्छु
दशैं आएर आज अबोध छोराछोरी पुल्लकित छन्
तर
जब म
ती गुरुङहरूलाई सम्झिँन्छु
तामाङहरूलाई सम्झिँन्छु
अनि
दशैं सँगै रिस जागेर आउँछ
घृणा उम्लेर आउँछ
मन कुड्डिएर आउँछ

सोध्न मन लाग्छ- ‘ए, दशैं तिमी किन यतिधेरै विभेदी ?’

श्रीमान्
म गरिब किसान हुँ
सधैंझै, दशैंमै महंगी बढेको छ
छोराछोरीलाई एकसरो लुगा फेरिदिनु छ
दुई छाक मासुभात खुवाउनु छ

पाहुँनालाई टीका र दक्षिणा साट्नु नै छ
अनि
सम्झिन्छु- ‘साहुँकहाँ घरबारी बन्धकी राख्नु पनि त छ’
खै,
मेरो दशैं कहिलेसम्म आइपुग्दो हो ?

श्रीमान्
म पशु हुँ
म पन्छी हुँ
मलाई मन्दिरका अघिल्तिर रेटिनु छ
मैले भैरव, दुर्गा, भवानीलाई खुसी पार्नु छ
उनीहरूको दशैं रमाइलो बनाइदिन
मैले बली बन्नु छ
ए, दशैं मैले कहिलेसम्म तिम्रो बली बनिदिनुपर्ने ?

श्रीमान्
म दलित हुँ
मैले नै हातहतियार बनाइदिन्छु
पञ्जेबाजा बजाइदिन्छु
अनि
उनीहरू फूलपाती भित्र्याउँछन्
सप्तमी पूजा गर्छन्
तर
मलाई दुर्गा मन्दिर र शक्तिपीठहरूमा प्रवेश दिँदैनन्
साच्चै,
मैले कहिलेसम्म हाँसिखुसी दशैं मनाउन पाउँदो हुँ ?

श्रीमान्
म गैरहिन्दु हुँ
हिन्दुले मनाउने दशैंमा हप्तौं छुट्टी दिने राज्यले
क्रिशमसमा एकदिन
अनि
रमाजनमा एकदिन छुट्टी छुट्याउँछ

र त सोध्न मन लाग्छ___
उग्र हिन्दुवादलाई लाद्ने
अनि
धर्म निरपेक्षताको बिगुल फुक्ने ?
आखिर कहिलेसम्म ??

यो ‘मिलेर बसेको’ होइन
उपल्लोले तल्लोलाई ‘थिचेर’ बसेको
समाज हो
म आफू थिचिएर
उनीहरूको ‘सद्भाव’ कायम गरिदिइराख्नुपर्ने ?
आखिर कहिलेसम्म ??

श्रीमान्
त्यसैले
मलाई दशैं आउँदैन् ।
°°°°°

Sharing

प्रतिक्रिया दिनुहोस