भदौ ४, काठमाडौ । भक्तपुरको बालसुधार गृहबाट भागेका मध्ये अझै ३१ जना फरार रहेका छन् । फरार १ सय १९ जना मध्ये ८८ जना पक्राउ परिसकेका छन् ।

आइतबार सुधार गृहमा रहेका एकको मृत्यु भएपछि उनका आफन्तहरु सोमबार विरोधमा उत्रिएको मौका छोपेर उनीहरु भागेका थिए । रामेछापका कमल बस्नेतको मृत्युमाथि आशंका व्यक्त गर्दै उनका आफन्तले बाल सुधार गृहमा तोडफोड गरेपछि सुधार गृहमा रहेका कैदीहरु भागेका हुन् । भाग्न अघि भएको झडपमा १२ सुरक्षाकर्मी र ६ बन्दी घाइते भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले अझै ३१ जना पक्राउ पर्न बाँकी रहेको जानकारी दिए । उनले भने ‘धेरै पक्राउ परिसकेका छन्, फरार रहेका अझै ३१ जना पक्राउ पर्न बाँकी छन्, उनीहरुको खोजीकार्य तदारुकताका साथ भइरहेको छ, उनीहरु पनि पक्राउ पर्नेछन् ।
काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका ८८ जनालाई बानेश्वर प्रहरी वृत्त लगायतका स्थानमा राखिएको छ । सुधार गृहमा २९९ जना कैदी रहेका थिए । यद्दपि प्रहरीले फरारको संख्या अझै किटानी गरेर भन्न सकेको छैन ।