साउन १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको भ्रष्टाचार विरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभार समेत प्रकट गरे ।
उनले भने ‘पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।’ प्रधानमन्त्री दाहालले वर्तमान सरकार नेपालको वामलोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न तयार रहेको बताए । सामाजिकन्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमासरकार क्रियाशीलरहेको पनि उनको भनाइ थियो ।
