जेठ २१, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिनमै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।
दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ ।