जेठ २५, काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले अहिलेसम्म आएको कृषि अनुदानको विवरण संसदमा पेश गर्न आग्रह गरेका छन् । विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने क्रममा सांसद सिंहले मन्त्रीदेखि लिएर सबैले कृषि अनुदानमा करोडौंको घोटला गरेको दावी गरे । उनले त्यस्तो कार्यमा संलग्न रहेका हरेकलाई कारवाही गर्न माग गरेका छन् ।

उनले भने ‘ अहिलेसम्म कृषि अनुदान चाहे सरकारको होस चाहे विदेशी दातृ राष्ट्रको होस जजसले दिएको छ सम्पूर्ण अनुदान यस हाउसमा पेश होस । त्यो अनुदान जो दुरुपयोग भईरहेको छ । सुन्नमा आएको छ कि प्रदेश सरकारको मन्त्री र आफ्ना नातागोता र हामी माननीयहरुकोबाट पनि त्यो अनुदान लिएर आफ्नो फर्मको नामबाट करोडौं रुपैयाँ हिनामिना भएको छ, त्यसको उचित जाँच होस भन्ने माग राख्छु । यदि त्यस्तो कार्यमा हामी मध्य कोही मिसिएको छ भन्े त्यसलाई पनि कडा भन्दा कडा कारवाही होस । ’