• २०८३ बैशाख ७ गते सोमवार

सुर्यदेवको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७९ मङ्सिर ०४ गते आइतवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २० तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, चन्द्रास्त : दिउँसो ०२:१६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:३१ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:०८ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
रिसराग र अहङ्कार बढ्ने दिन हो, झैझगडा र मुद्दामामिलामा अघि नसर्नु होला, अनि स्वास्थ्यमा कमजोरी देखिएमा पटक्कै हेलचक्र्याइँ गर्नु हुँदैन । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूणर् काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्द्धामा विजय प्राप्त हुने दिन हो । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । आफ्ना अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी कायम राख्ने प्रयास गर्नु होला । हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूणर् कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । कुनै व्यक्तिगत समस्या आइपर्नाले कार्यक्षेत्रमा खट्ने अनुकूलता मिल्दैन । कामको चाप बढ्नाले सहयोगी कर्मचारी र हाकिम रुष्ट हुनसक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रूप, लावण्य, सौन्दर्य र जीवनशैली देखेर अरु पनि प्रभावित हुनसक्छन् । आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस