वि.सं. २०७९ आश्विन १२ गते बुधवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर २८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे, चन्द्रोदय : बिहान ०७:३६ बजे र चन्द्रास्त : बेलुका ०७:१४ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) तृतीया तिथि, मध्यरात्रीपछि ०१:४८ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, चित्रा नक्षत्र, बिहान ०७:४४ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । प्रेमी वा प्रेमिकाको अहङ्कार, घमण्ड र जिद्दीपना बढ्नेछ । आफ्ना कुरा राख्न खोज्दा विवादको सम्भावना भएकाले आज नबोलेकै जाती हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार/विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्ने समय छ । ज्ञान बढाएर व्यक्तित्वको विकास गर्नु उचित हुन्छ, केही गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अहङ्कार, अडान र आडम्बर कमजोरी बन्नसक्छन्, मनमा भ्रम र चिन्ता सलबलाउने समय भएकाले सकेसम्म धैर्य र संयम हुनु राम्रो हुन्छ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्ने समय हो । पुरानो समस्या वा कारबाहीप्रति ध्यान केन्द्रित हुनसक्छ । कुनै नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा सबै समस्या हल गर्न सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अचानक नचिताएको धन हातमा आइपुग्ने समय हो, कतिपय परिस्थितिमा धनको फुइँ लाउने अवसर पनि आउने छ, तर खर्चबर्चको उपभोगमा सचेत र संयम हुनुपर्ने दिन हो । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । बढुवा वा पुरस्कार पाउने समय हो, प्रसिद्धि कमाउने मौका छ । प्रयास गरेमा उच्च ओहदा र मानसम्मान प्राप्त गर्न सक्नुहुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला । परिश्रम र प्रयास गर्ने दिन हो, दृढ इच्छाशक्ति राख्नुपर्छ, नयाँ जिम्मेबारी वा दायित्व वहन गर्न पाइने छ । गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । अलि बढी मिहिनेत गर्नुपर्ने समय छ, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ । कुनै कुरामा दुविधा भएमा घरपरिवारका बृद्ध सदस्यहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँके/ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । मनमा वैराग्य जाग्ने र एकोहोरोपना बढ्ने समय हो । सकेसम्म रामरौस त्यागेर सरल व्यवहार र सादा जीवनशैलीलाई अनुसरण गर्नु जाती हुन्छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ ।
