• २०८३ असार १६ गते मङ्गलवार

नाकामा भएका बिचौलियालाई जेलमा कोचेर बिषादी जाँच गर

पढ्न लाग्ने समय : ५ मिनेट
  • विनोद त्रिपाठी

प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट आएको पत्र नपाएर झुक्किनु भएछ । पत्र लुकाउनेहरु प्रधानमन्त्री वरिपरी घुमिरहन्छन् । कसरी झुक्निुभो यो उहाँलाई नै थाहा छ । तर, अब नझुक्किनका लागि साना तर महत्वपुर्ण कुरा गरौं ।

केहि दिन अघि चितवनमा ब्यापारीले भारतीय गोलभेंडा फालेछन् । पहिले पनि भारतीय केरा आयातको यसरी नै बिरोध हुँदै आएको थियो । भारतबाट कृषिजन्य उत्पादन रोक लगाउन नेपाली कृषकले धेरै पहिले प्रयास गरे । त्यसको असर यहाँ काठमाडौं सहित देशका प्रमुख शहरमा कसरी परेको छ, सरकारले ध्यान दिन सकेको छैन । रोक लगाएर मात्र हुन्छ ? त्यो बिषादीयुक्त तरकारी, फलफुल र सबै खाद्यान्न चेकजाँच गरेर ल्याउने दायीत्व हाम्रो होइन र ? हरेक नाकामा खाद्य प्रयोगशाला राखेर बिचौलियालाई जेल कोचेर कडाइका साथ जाँच गरेर ल्याउने हो भने कस्ले छेकेको छ ? भारत सरकारले छेकेको हो भने भन्नुस हामी जनतालाई । हामी सिमानामा गएर बलभद्र कुँवर, भक्ति थापा बनेर बिषादी तरकारी रोक्न तयार छौं । त्यसैले, अरुलाई दोष होइन, हामी हाम्रो तयारी निष्पक्ष बनेर गरौं न । अर्को कुरा, स्वदेशी उत्पादन कुन स्तरबाट भएको छ, ख्याल गर्नुपर्देन ? यो कार्यले उपभोक्ता कति मारमा छन्, यतातिर आम उपभोक्ताले नसोच्ने ? बुँदागत रुपमा यी कुरा लागु गरेर सरकारले काम गरोस ।

१. भारतको उत्तरप्रदेश, विहार, झारखण्ड, पश्चिम बंगाल राज्यका बिभिन्न क्षेत्रबाट नेपालमा कृषि उत्पादन आउँछ । यी राज्यका उत्पादन बिश्वमै सबैभन्दा खराब छन् । विहार वरपर उत्पादन भएका खाद्यबस्तु स्वंय भारतीयहरुले दिल्ली, मुम्बइतिर बिक्री बितरण गर्न प्रतिबन्ध लगाएका छन् । तर, यहि भारतका आधा भन्दा बढि राज्यका जिल्लाहरुमा तरकारीमा बिषादिको प्रयोगमा पुर्ण प्रतिबन्ध छ । हाम्रो उत्पादन भन्दा ति राज्यहरुमा उत्पादित भारतीय तरकारी स्वादिलो मात्र होइन, स्वस्थ पनि छ ।

२. नेपाली केरा ब्यबसायीले पुरा अबधी केरा नपाक्दै काटेर जर्बजस्ती बिषादीले पकाएर बजारमा पठाउँछन् । हेर्नुस नेपाली केरा बजारको अबस्था । तर, भारतीय केरा पुरा अबधी भएको धेरै राम्रो, स्वस्थ र सस्तो हुन्छ ।

३. साग, बोडी, फापर, पालुङो, सिमी लगायतका तरकारीमा प्रत्यक्ष माथिबाट बिष हालिन्छ । कांक्रो, लौका लगायतका बिमौसमी फलफुल तरकारी बिषादीको मात्र आधारमा उत्पादन गरिन्छ । त्यति मात्र होइन, जमिन भित्र फल्ने आलु, पिंडालुमा समेत माटोमा बिषादि प्रयोग गरेर फलाईन्छ । यो रोक्ने कस्ले ? यसले गर्दा हामीले छरेको बिष हामी आँफैले कति खाईरहेका छौं, सरकारले रोक्न पर्देन ? कम्तिमा पनि भारतले केहि क्षेत्रहरुमा त तरकारीमा बिषादी प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ ।

४. बिषादी प्रयोगले उत्पादन मात्र बढ्ने हो । तर, स्वास्थ्यलाई उति नै हानीकारक हुन्छ । जस्ले गर्दा हरेक मानिसमा टाउको दुख्ने रोगको समस्या बढ्ने चिकित्सकले बताउँदै आएका छन् । सुत्केरीलाई प्रत्यक्ष असर पार्छ र हरेक ब्यक्तिलाई रोगी बनाउँछ । यो कुरा सरकारले प्रचार गर्नुपर्देन ?

५. भारत सरकारले हरेक कृषकलाई अनुदान दिएको छ । मल, वीउ लगायतमा भारत सरकारले ५ बर्षदेखि अनुदान र नोक्सान हुँदा क्षतिपुर्ति दिने भएकोले त्यहाँका अधिकाश कृषक अर्गानिक उत्पादनमा लागेका छन् । भारतीय उत्पादन खराब भएकोले केहि बर्षदेखि युरोपका बिभिन्न मुलुक, चीन, रसिया र यो वरपरका देशहरुले भारतीय खाद्य उत्पादन आयातमा कडाई गर्दे आएका छन् । त्यसैले, भारत अहिले अर्गानिक उत्पादनमा लागीरहेको छ । नेपालमा आउने अधिकांश तरकारी फलफुल क्यारेन्टाइन चेकजांच गरेर ल्याउन सबैभन्दा पहिला सिमानामा नेपाली बिचौलिया तुरुन्त हटाउन पर्देन ? चेकजाँच गर्ने नाममा दलहरुका नेता कार्यकर्ता ब्यापारीले खरिद गर्नेहरुको जाँचै नगरी ल्याउने गरिन्छ । कर्मचार िदबावमा पर्छन् । घुसखोरी चल्छ । यो अपराध राज्यले रोक्नु पर्देन ?

६. बिश्वमा सबैभन्दा अर्गानिक तरकारी फलफुल उत्पादन गर्ने देश फिनल्याण्ड हो । किनकी त्यहाँ कृषकको सम्पुर्ण खर्च सरकारले ब्यहोर्छ । त्यहि भएर कृषकलाई नाफा गर्न हानथाप गरेर छलछाम गर्न आबस्कता पर्देन । नाफा भए कृषकलाई हुन्छ । घाटा भए सरकारले ब्यहोर्छ ।

७. दक्षिण एशियामा तरकारी फलफुलमा बिषादी प्रतिबन्ध लगाउने पहिलो देश भुटान हो । भारतले २९ वटा राज्य मध्ये २२ वटालाई पुर्ण बिषादी प्रतिबन्ध लगाएको छ । केहि स्थानमा अझै लुकिछिपी बिषादी प्रयोग भएपनि दिल्ली लगायतका ठुला शहरमा पछिल्लो ३ बर्षदेखि बिषादी फलफुल तरकारी बेच्न पाईदैन । बिहार, उत्तरप्रदेश क्षेत्रमा उत्पादन हुने खाद्य सामग्री नेपालले पनि आयात गर्न प्रतिबन्ध लगाउन सक्नुपर्छ ।

८. बिश्वमा सर्बाधिक बिषादी प्रयोग गर्ने मुलुक सुडान, इथियोपिया, हैटी, बंगालादेश र क्यमरुन हुन् । यी देशमा बिषादीकै कारण हरेक बर्ष हजारौं मानिसको अकालमा मृत्यु हुँदै आएको छ । बिस्व खाद्य कार्यक्रमले यी देशहरुमा उत्पादन हुने खाद्य सामग्री निर्यात गर्न प्रतिबन्ध लगाएको छ ।

९. बिषादी रोक्न सरकारले कृषकलाई अनुदान दिनुपर्छ । नोक्सान सरकारले नै ब्यहोर्नुपर्छ । नेपाली कृषकले बिषादीरहित कृषिजन्य उत्पादन नगर्दा सम्म भारतबाट आउने सामग्री रोकेर समाधान हुने हो र ? खुल्ला बजार अर्थ नीतिकै आधारमा चलेको बिश्व बजार अनुसार, ७० प्रतिशत आयातीत खाद्य सामग्रीबाट भोक मेट्ने हामी नेपालीले करिब ३ करोड जनतालाई असर पुर्याउने ख्याल गर्नु पर्देन ? खुल्ला बजारमा अन्तरदेशिय ब्यापारमा प्रतिबन्ध लगाउनु हुँदैन । हामीले हाम्रा संयन्त्र बलियो बनाएर दलहरुका बिचौलियालाई जेलमा हालेर नाकानाकामा चेकजाँचमा कडाई पो गर्ने हो । हाम्रो उत्पादन नै स्वास्थ्यका लागि हानीकारक भएपछि आयात रोकेर समाधान हुने हो र ?

१०. सबैभन्दा पहिले सिमाना नाकामा क्वारेन्टाइन जाँच कार्यलाई शतप्रतिशत प्रभावकारी बनाउन आबस्यक छ । दलाल र बिचौलियाको दवावमा कर्मचारी, प्राविधिक र चिकित्सकहरु संचालित हुने भएकोले बिचौलिया र दलाललाई जेलमा सडाएर राख्ने तुरुन्त ब्यबस्था होस । बिचौलिया नसडेसम्म तरकारी सडिरहन्छ । यो कुनै वेतुक तर्क होइन । यसमा दलहरुका अरिंगालहरुको सुझाव आबस्यक छैन । नेपाल सरकारको दायीत्वलाई घच्घच्याएको हो । कृषकलाई जिम्मेवारी बनाएको हो । माथि उल्लेखित कुराहरु पुरा हुने बित्तिकै कृषकहरु अझ ब्यबसायीक र धनी हुनेछन् । नेपाली जनता बिस्तारै स्वस्थ्य हुनेछन् । यहि नै समाधानको एक मात्र उपाय हो ।

विनोद त्रिपाठी लेखक त्रिपाठी, नेपाली मिडिया क्षेत्रमा सम्पादक बनिसकेका छन् त्रिपाठीले समसामयीक बिषयमा कलम चलाउँदै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस