• २०८३ बैशाख ३० गते बुधवार

विष्णु रिमाल भन्छन्– एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

जेठ १४, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मतसहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले बढी मात्रामा सिट हासिल गरे पनि पालिका प्रमुखहरूले प्राप्त गरेका मत विश्लेषणका आधारमा एमाले पहिलो दल भएको दाबी उनको छ ।

रिमालका अनुसार एमालेबाट विजयी तथा पराजित मेयर/अध्यक्षहरूले कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतमध्ये ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत प्राप्त गरेर पहिलो दल बनेको हो ।

‘पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाब गर्ने हो भने मेयर/अध्यक्षहरूको कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतको ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत एमालेको छ ।’ रिजालले भनेका छन, ‘जसअनुसार कांग्रेसले ३३.३ प्रतिशत मत मात्रै प्राप्त गरेको छ ।’ गठबन्धन गरेर होम्मिएको कांग्रेसका मेयर र अध्यक्षहरूको प्राप्त गरेका मतका आधारमा ३३.३ प्रतिशत मत मात्रै प्राप्त गरेको रिमालको भनाइ छ ।

निर्वाचन आयोगको तथ्यांक उल्लेख गर्दै रिमालले सात सय ५३ मध्ये तीन सय ११ स्थानीय तहमा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएको तथा तीन सय सात स्थानमा कांग्रेसले दुई वा तीन दलिय गठबन्धन गरेका कारणले मात्रै ३३.३ प्रशिशत मत प्राप्त गर्न सफल भएको हो ।

नेकपा एमालेबाट चोइटिएको नेकपा एसको जम्मा चार प्रतिशत मत रहेको रिमालले उल्लेख गरेका छन् । ‘नेकपा एसको चार प्रतिशत पनि सबै उसको होइन, कांग्रेस र माओवादी गठबन्धनबाट पाएको हो,’ रिमालले विश्लेषण गरेका छन् । नेकपा ‘एस’को एक तिहाइ अर्थात् १.३३ प्रतिशत कटाउँदा कांग्रेसको ३२ प्रतिशत मात्र रहनेछ भने अझ माओवादी केन्द्रबाट पाएको लाभको अनुमानित तीन प्रतिशत कटाउँदा कांग्रेसले २९ प्रतिशत मात्रै पाएको रिमालको तर्क छ ।

चुनाव चिह्न रुखबाट निर्वाचित जनप्रतिनिधिको संख्या एमालेको भन्दा बढी कांग्रेसको स्वीकारर्दै रिमालले भनेका छन् । बढीलाई एमालेले घटी भनि रहेको छैन, एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ– कांग्रेसको खातामा आएको त्यो ‘पुँजी’ उसको आफ्नै हो वा त्यसमा अरुको अंश पनि छ ? यदि कांग्रेस आफूलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफूले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन ? साँवा, सापटी, ब्याज सबै एक्लै कांग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?

‘यदि गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धनभित्रका दलहरूबीच के कसरी अंशबण्डा भएको छ ? त्यो ती दलहरुको आन्तरिक विषय हो ।’ रिमालको तर्क छ, ‘यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो ।’

तथ्य सहित बहस गरौं ! भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन : २०७४ को आम निर्वाचनपछि संसद र सार्वजनिक स्थलमा नेपाली काँग्रेसको मनस्थितिलाई हेरेर एमालेले एकोहोरो अनुरोध गरिरह्यो– “यो निर्वाचनबाट परिणाम तपाईहरुको पक्षमा आएन । यो सत्यलाई स्वीकार्नुस् । हिजोको रजगज संझिएर कुण्ठित नहुनुस् ।” अहिले काँग्रेस त्यही भाषा दोहर्‍याउँन खोज्दैछ । एमालेलाई भन्दैछ– “हार स्वीकार गर । नेकाँको फेरिएको हैसियतलाई ‘सलाम’ गर !”

नेकाँको चुनाव चिन्ह रुखबाट निर्वाचित जनप्रतिनिधिको संख्या एमालेको भन्दा बढी छ । ‘बढी’लाई एमालेले ‘घटी’ भनि रहेको छैन । एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ– नेकाँको खातामा आएको त्यो ‘पूँजी’ उसको आफ्नै हो वा त्यसमा अरुको अंश पनि छ?”

जहाँको प्रतिस्पर्धामा ‘रुख वा हसिया–हतौडा वा कलम वा छाता/साइकल’ मध्ये एउटा मात्र अरुसंगको प्रतिस्पर्धामा छ, त्यो गठबन्धन नै त होला । या ति मध्ये २ वा २ भन्दा बढी चिन्ह गायब भई कुनै एउटा मात्र ‘सूर्य’संग प्रतिस्पर्धा गरेको भए त्यो पनि गठबन्धन नै त होला ।

अहिले काँग्रेसका नेताहरुले के भनिरहनु भएकोछ, त्यो भन्दा जब्बर तथ्य निर्वाचन आयोगको ‘रेकर्ड’ हो । रेकर्डले देखाउँछ– ७५३ मध्ये ३११ स्थानीय तहमा नेकाँ सहितको पाँच दलीय गठबन्धन छ, ३०७ स्थानमा नेकाँ सहितको २ वा ३ दलीय गठबन्धन देखिन्छ । एमाले, काँग्रेस र माके एक्ला एक्लै प्रतिस्पर्धा गरेको स्थान १३५ मात्र देखिन्छ ।

यो निर्वाचनमा एमाले ‘अघि कि पछि’ भन्ने मुद्धाको छिनोफानो गर्न यो पक्षलाई ख्याल गर्नु परेन?

यदी गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धन भित्रका दलहरु बीच के कसरी अंशबण्डा भएको छ, त्यो ती दलहरुको आन्तरिक विषय हो । यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सीटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो । यो तथ्य स्वीकार्न साथीहरुमा आनाकानी किन? यदी काँग्रेस आफुलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफुले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन? सावाँ, सापटी, व्याज सबै एक्लै काँग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र?

यदी लोकप्रीय मतको हिसावमा जाने हो भने जसरी हिसाब गरे पनि एमाले पहिले दल हो भन्न साथीहरुलाई किन आँट नआएको? पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाव गर्ने हो भने मेयर/अध्यक्षहरुको कुल १ करोड १२ लाख ८ हजार १९५ मतको ३४ प्रतिशत (३८०९६९८) एमालेको छ । काँग्रेसको ३३.३ प्रतिशत र माओवादी केन्द्र (माके)को ११.९ प्रतिशत छ । उपमेयर/उपाध्यक्षको कूल १ करोड, ४ लाख ६० हजार ८५३ मत मध्ये ३५.१ प्रतिशत (३६६८२५५) एमालेको पक्षमा छ । गठबन्धन गरिएको सबै पदमा सबै नउठेको भन्ने तर्कमा जाने हो र दुवै पदमा खसेको सदर मतको औसत र दलहरुले पाएको मतको औसत निकाल्ने हो भने पनि कूल १ करोड ८ लाख ३४ हजार ५२४ मतको ३५ प्रतिशत (३७३८९७७) एमाले र ३० प्रतिशत नेकाँको देखिन्छ ।

नेकपा एमालेबाट चोइटिएको नेकपा ‘एस’को जम्मा मत ४ प्रतिशत छ । ‘एस’को ४ प्रतिशत पनि सबै उसको होइन, काङ्रग्रेस र माओवादी गठबन्धनबाट पाएको हो भन्ने अनुमान गर्न मिल्ला नी! त्यस्तै काङ्ग्रेसले पनि ‘एस’को एकतिहाइ पायो होला । कुल मतमा एस’को एकतिहाइ अर्थात् १.३३ प्रतिशत कटाउँदा काङ्रग्रेसको ३२ प्रतिशत मात्र रहन्छ । अझ माओवादीबाट पाएको लाभको अनुमानित ३ प्रतिशत कटाउँदा काङ्ग्रेस २९ प्रतिशतमा झरने?!

आधार के लाई मान्ने? के को आधारमा नम्बर १ भन्ने? के लाई हार वा जीत भन्ने? सिधा जोडे पनि, छड्के जोडे पनि लोकप्रीय मतको हिसाबले एमाले पहिलो त देखियो–देखियो । आउनुस् न तथ्य सहित बहस गरौं । ‘चिट पनि मेरो, पट पनि मेरो, अण्टी मेरो बाऊको’ भने जस्तो नगरौं ।

Sharing

प्रतिक्रिया दिनुहोस