• २०८३ भाद्र ६ गते शनिवार

इमरान खानलाई छुट दिने सम्भावना नरहेको दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ६, काठमाडौँ ।   हिरासतमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई किसिमको छुट वा सम्झौता हुने चर्चा चलेको छ । खानको स्वास्थ्य उपचारसम्बन्धी सर्वोच्च अदालतको आदेशपछि उनलाई अस्पताल लगिने चर्चा भए पनि उनलाई पाकिस्तानको चिकित्सा विज्ञान संस्थान लगेर पुनः अदियाला जेल फर्काइएको थियो । त्यसपछि खानसँग कुनै गोप्य सम्झौता वा छुटका लागि पहल भइरहेको अड्कलबाजी सुरु भएको छ ।

तर जियो न्यूजले एक रिपोर्ट प्रकाशित गर्दै इमरानसँग पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेनाप्रमुख असीम मुनीरले कुनै किसिमको सम्झौता गर्ने वा उनलाई कुनै किसिमको छुट दिने भन्ने बारेमा सहमति नभएको उच्च स्रोतलाई उल्लेख गर्दै स्पष्ट पारेको छ ।

पाकिस्तानमा राजनीतिक तथा सैन्य नेतृत्वबीचको हरेक असामान्य घटनालाई विगतमा जस्तै ‘सम्झौता’, ‘छुट’ वा ‘मतभेद’को दृष्टिले हेर्ने प्रवृत्ति रहे पनि वर्तमान अवस्था विगतभन्दा फरक रहेको जनाएको छ ।

यसअघि शुक्रबार इमरान खानलाई स्वास्थ्य परीक्षणपछि पुनः अदियाला जेल पठाइएको थियो । शिफा अन्तर्राष्ट्रिय अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गरेपछि उनलाई तत्काल अस्पतालमै भर्ना गर्न आवश्यक नरहेको निष्कर्ष निकालेपछि जेल फिर्ता लागिएको थियो ।

सर्वोच्च अदालतले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई दुई दिनभित्र अस्पतालमा परीक्षण तथा उपचारका लागि लैजान आदेश दिएको थियो । सरकारले उक्त आदेशविरुद्ध पुनरावलोकन निवेदन दिए पनि सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयले आपत्ति जनाउँदै निवेदन फिर्ता गरिदिएको थियो ।

इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । उनीविरुद्ध विभिन्न मुद्दामा सजाय सुनाइएको छ । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले भने जेलको अवस्थाले उनको स्वास्थ्यमा असर गरिरहेको दाबी गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस