चैत ८, विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको अवस्था ७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा काँग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्ताले भेटका क्रममा वा फोन गरेर भनेको बताउँदै उनले तर ०७४ सालको चुनावको परिणामलाई पनि ध्यान भने दिनुपर्ने बताए । ‘देशका विभिन्न जिल्लाका साथीहरुसँग फोनमा, भेटघाटका क्रममा कुराकानी हुन्छ । उहाँहरुको कुरा गठबन्धन गरेर जान हुँदैन भन्ने कुरा छ ।गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ,’ कोइरालाले भने, ‘तर, हामीले एउटा कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । त्यो ध्यान भनेको ०७४ सालको निर्वाचनमा एमाले र माओवादी जसरी मिले त्यसरी नै फेरि मिल्न सक्छन् कि भन्ने हामीलाई चिन्ता छ ।’
कोइरालाले गठबन्धन केका लागि भन्ने विषय प्रष्ट हुनुपर्नेमा पनि जोड दिए । ‘गठबन्धन केका लागि रु अरु पार्टीलाई जिताउनका लागि गठबन्धन हो कि ? ति पार्टीहरुले कांग्रेसलाई पनि भोट हाल्नका लागि हो रु त्यो विषयमा नेताहरुले सोच्नु आवश्यक छ,’ उनले भने, ‘हामीले ९० प्रतिशत भोट अर्को पार्टीका कार्यकर्तालाई नेतालाई खसाल्ने अनि उहाँहरु जित्ने अनि हामीलाई चाहीं भोट नदिने हो भने त्यस्तो गठबन्धन हामीलाई चाहिँदैन ।’
नेता कोइरालाले गठबन्धन गर्दा काँग्रेस कमजोर हुनसक्ने पनि बताए । ‘काँग्रेसको आफ्नै सिद्धान्त छ । राष्ट्रियताको विषयमा छुट्टै छ, हामी उग्रराष्ट्रवादको कुरा गर्दैनौं, प्रजातान्त्रिक समाजवादको विषयमा छुट्टै सिद्धान्त छ, हाम्रो विचार भिन्दै छ, अनि हामी किन गठबन्धन गर्ने ?’, कोइरालाले भने, ‘स्थानीय तहमा त कुनै पनि हिसावले केन्द्रले हस्तक्षेप गरेर गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा छु म । कतै स्थानीय स्तरमा त्यहाँका पार्टीहरुले आपसमा कुनै वडा दिएर मिल्दा जित्न सक्ने अवस्था बन्छ भने त्यो बेग्लै कुरा हो ।
७४ सालमा काँग्रेससँग गठबन्धन गरेर माओवादी पछि एमालेसँग मिलेको दृष्टान्त दिँदै उनले भने, ‘हामीले गठबन्धन गर्यौं, महन्थ ठाकुर, उपेन्द्र यादवलाई सिट छोड्यौं, कमल थापालाई सिट छोड्यौं, विक्रम पाण्डेलाई सिट छोड्यौं, अशोक राईलाई सिट छोड्यौं । तर नेपाली कांग्रेसलाई कसैले सिट छोडेन ।
‘कस्तो गठबन्धन हामीले गर्न खोजेको यो क्लियर नभइ कुनै पनि साँठगाँठमा हामी गयौं भने हामी ट्र्यापमा पर्छौँ हामी फस्छौँ जस्तो लाग्छ ।’ उनले थपे । अरु पार्टीका नेतालाई जिताउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउँदै उनले गठबन्धन गरेर जाँदा काँग्रेस कमजोर हुने तर्क गरे । निर्वाचनमा काँग्रेस जित्नका लागि सबै एकढिक्का हुनुपर्ने उनको भनाइ थियो । उनले काँग्रेस एकढिक्का भए अरूसँग मिल्नै नपर्ने पनि बताए ।