• २०८३ असार १ गते सोमवार

कान्छी श्रीमतीले प्रेमीकाे सहयाेगमा गरिन् श्रीमानकाे विभत्स हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

फागुन १०, काठमाडौं । गत फागुन ४ र ५ गते धरानस्थित आँपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र फेला परेको शवको पहिचान खुलेको छ । पहिचान खुलेसँगै हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी मंगलबार साँझ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार धरान–भेडेटार सडक खण्डमा पर्ने आँपगाछी क्षेत्रमा दुईदिनमा बीभत्स अवस्थामा जेब्रा झोलाभित्र फेला परेको शव इलाम बाँझो १ घर भएका ४३ वर्षीय दिनेश सिग्देलको रहेको खुलेको छ ।

शवको सनाखत भएसँगै मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र २९ वर्षीय सरोज भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर घर भई स्थायी इलाम घर भए पनि हाल विराटनगर बस्दै आएकी अनिता केसी र विराटनगर–४ घर भएका सरोज भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

मृतक सिग्देल भने पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुष २० गते नेपाल आए पनि २१ गते मात्रै श्रीमती अनितासँग विराटनगरको एक होटलमा बसेको र २२ गते बेलुका अनिताका प्रेमी सरोज भण्डारीलाई बोलाएर हत्या गरेको खुलेको छ । ‘दिनेश रक्सी धेरै पिउने भएकाले झगडा सुरु भएछ,’ एसपी थापाले भने, ‘पुष २२ गते राति विराटनगरकै एक होटलमा हत्या भएछ ।’ २२ गते राति हत्या भएपछि उनीहरूले भोलिपल्ट बजारबाट जेब्रा झोला किनेर ल्याएको र खुकुरीले शवलाई टुक्रा–टुक्रा पारेर झोलामा हालेपछि टेम्पोमा धरान आएको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार अनिता र सरोजले ‘ग्रान्ड डिजाइन’ नै बनाएर उनको हत्यापश्चात् जेब्रा झोलामा शव पोको पारेर धरानको जंगलमा फालेको खुलेको छ । त्यसदिन शव फालेपछि उनीहरू भेडेटार गएर बसेको र भोलिपल्ट विराटनगर झरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए । घटनाको विस्तृत अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार राति विराटनगरमै ‘सर्च’ गर्ने क्रममा पक्राउ गरेको र मंगलबार साँझ सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले बताए ।

बीभत्स अवस्थामा शव भेटिएपछि प्रहरीलाई शवको पहिचान गर्न सुरुमा निकै कठिन भयो । तर, शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो । प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरूले सिग्देलको पहिचान भएको हो ।

मृतकका बुबा हाल झापा शिवसतासी ११ झिलझिले बस्ने सुरेन्द्र सिग्देल र मृतकको दुई श्रीमतीमध्ये जेठी श्रीमती निर्मला सिग्देललाई प्रहरीले मृतकको तस्बिर देखाएपछि उनको पहिचान खुल्यो । इलाम बाँझो १ स्थायी बतन भई हाल विराटनगर महानगरपालिका–३ स्थित पीपलचोकमा कान्छी श्रीमती अनितासहित कोठाभाडामा बस्दै आएका उनी बहराइनबाट छुट्टीमा आएका थिए । सोही क्रममा पुष २२ गते विराटनगरकै फेमेली होटलमा बास बसेको र कोठामा आएका अनिता केसीका प्रेमी सरोज भण्डारी सोही कोठामा आएर सुत्ने खाटमा बसेका दिनेशसँग सामान्य कुरा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सो क्रममा सरोजले साथमै लिएर आएको गलबन्दीले दुवै जना भएर दिनेशको घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको डीएसपी कुँवरले बताए ।

पुष २२ गते राति हत्या गरी शव सोही कोठामा राखेर त्यसदिन दुवै जना बाहिर बसेका थिए । उनका अनुसार २३ गते बिहान स्थानीय पसलबाट ग्रेन्डर मेसिन र २ थान जेब्रा झोला र पोलिथिन झोला खरिद गरी ल्याई दुवै जनाले शव व्यवस्थापन गर्न ग्रेन्डर मेसिन, खुकुरीको सहायताले मृतकको घाँटीमा काटेर टाउको र दाहिने तिघ्राको भाग काटेर अलग गराई टाउको र तिघ्राको भाग एउटा झोलामा र शरीरको भाग अर्को झोलामा हालेर दिउँसो २ बजेको समयमा टेम्पोमा धरानको जंगलमा ल्याएर फालेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

सिटी चालक पेसा गर्दै आएका सरोज भण्डारीको विवाह भई १ छोरी रहेको प्रहरीले जनाएको छ । मृतक लामो समयदेखि बहराइनमा बस्ने र आउने जाने गरेका कारण उनका कान्छी श्रीमती अनिता केसी सरोज भण्डारीबीच करिब ६ महिना अघिदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । पक्राउ परेका दुवै जनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राजधानीबाट

Sharing

प्रतिक्रिया दिनुहोस