पुस २३, काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आज यहाँ सम्पन्न ११ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । समाजको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा तुलसीराम सुवेदी, सचिवमा अर्जुन खतिवडा, सहसचिवमा भेषराज बेलवासे र कोषाध्यक्षमा प्रयास श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । सदस्यहरूमा सुधा देवकोटा र सन्तोष रोकाया निर्वाचित हुनुभएको छ । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले समाजको ११ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै पछिल्ला दिनमा सहकारी सङ्घसंस्था पैसा ब्याजमा लगानी गरेर कमाउनतिर लागेको बताउनुभयो । “पछिल्ला दिनमा सहकारी उद्देश्य बिहीन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाको गन्तव्य अर्कै तिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।
सहकारी सङ्घसंस्था सदस्यहरूको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्यत भएको भन्दै उहाँले ब्याजमा कसेर सदस्य ठग्ने सहकारी खास अर्थमा सहकारी नभएको उल्लेख गर्नुभयो । हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ । बजारमा तरलता अभावको सङ्कट पर्न थाले पनि सहकारी अभियन्ताले कम्तीमा पनि दुई प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।