जेठ १७, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमताअनुसार ल्याएको दाबी गरेका छन् । बजेट बारे छलफल गर्न आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले बजेटको आकार ठूलो नभई कुल गार्हस्थ्य उत्पादनको करिब २८.५ प्रतिशत मात्र रहेको स्पष्ट गर्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरेका हुन् ।

उनले प्रारम्भमा २५ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा भए पनि अन्ततः करिब २१ खर्ब रुपैयाँ हाराहारीमा सीमित गरिएको बताउदै पछिल्ला वर्षमा ३० प्रतिशतभन्दा माथि पुगेको बजेट आकारको प्रवृत्ति तोडिएको बताए ।
अर्थमन्त्री डा. वाग्लेले भूकम्प र कोरोना महामारीका कारण सार्वजनिक ऋण बढेर ४२–४३ प्रतिशतसम्म पुगेको स्वीकार गर्दै हाल ऋण व्यवस्थापनमा सुधार भइरहेको बताए । उनले आगामी वर्ष ४१० अर्ब रुपैयाँ आन्तरिक र २४७ अर्ब रुपैयाँ बाह्य ऋण लिइने र ७२ अर्ब रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरिने बताए ।
तलब वृद्धिबारे उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी कर्मचारीको तलब वृद्धि प्रभावकारी रूपमा २१ प्रतिशत पुगेको दाबी गरे । साथै, आगामी वर्षदेखि ऋणको हिसाब गर्ने नयाँ विधिबारे नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिए ।