• २०८३ कार्तिक १४ गते शुक्रवार

आजको मौसमः चक्रवात “अर्नब” प्रभाव आज बढी देखिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १३, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, आज कार्तिक १२ गते (बिहीबार) देखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा र यी दुई प्रदेशका बाँकी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।

राति भने देशभर अधिकांश बदली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ भने देशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।

कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबार अगाडि नै सम्पन्न गर्न अनुरोध गरिसकेकाे छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन, पर्यटकहरूलाई उच्च हिमाली भू-भागमा नजान र गइसकेको भए पनि उक्त अवधिमा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

यसबाहेक, चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूसँग महाशाखाकाे अनुरोध छ।

Sharing

प्रतिक्रिया दिनुहोस