भदौ १३, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न इच्छुक व्यक्ति, संघसंस्था, कम्पनी, क्लब तथा नागरिकलाई आग्रह गरेको छ । कार्यालयले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य आवश्यक घरायसी सामग्री संकलन गरी उपलब्ध गराउन सकिने जनाएको छ ।

काठमाडौंमा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरी सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा पीडितसमक्ष पुर्याइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
राहत सामग्रीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवासँग ९८४१७९८५४२ मा सम्पर्क गर्न सकिनेछ ।
नगद सहयोग गर्न चाहनेले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तोकिएको खातामा वा उपलब्ध गराइएको क्यूआरमार्फत मात्र रकम जम्मा गर्न कार्यालयले अनुरोध गरेको छ ।