असोज १४, काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धा तथा निष्ठावान् नेता घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ निधन भएको हो।

उनी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित भई अस्पतालमा उपचार गराइरहेका थिए। वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेताहरूमध्ये एक थिए। पञ्चायती निरङ्कुशताविरुद्धको आन्दोलन र राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष लामो जेलजीवन बिताएका थिए।
जीवनभर सादा जीवन र निष्ठाको राजनीति अँगालेका उनले कठोर संघर्ष, प्रतिकूल परिस्थिति र अनेकौँ उतारचढावका बीच पनि नेपाली कम्युनिस्ट आन्दोलन तथा सामाजिक रूपान्तरणमा उनले योगदान पुर्याएका छन्।
पूर्वसांसदसमेत रहेका बस्नेत तत्कालीन नेकपा (एमाले) हुँदै पछिल्लो समय वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएका थिए। त्याग, संघर्ष, निष्ठा र इमानको राजनीति गर्ने एक सच्चा अभिभावक गुमाएको भन्दै उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सहकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।