साउन १४, काठमाडौं । आज अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा विश्व समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो दिन केवल साथी–साथीबीच शुभकामना आदानप्रदान गर्ने अवसर मात्र होइन, मानवता, विश्वास, सहिष्णुता, सहकार्य र विश्व शान्तिको साझा संकल्प दोहोर्याउने महत्वपूर्ण अवसर पनि हो आजको दिन ।

मित्रता मानिसको जीवनमा सबैभन्दा मूल्यवान सम्बन्धमध्ये एक हो । साँचो मित्रले सुखमा मात्र होइन, दुःख र संकटका घडीमा पनि साथ दिन्छ ।
मित्रताले जात, धर्म, भाषा, संस्कृति, वर्ग, भूगोल र राजनीतिक विचारका सीमाहरूलाई पार गर्दै एकअर्काप्रति सम्मान, आत्मीयता र विश्वासको भावना विकास गर्छ । यही कारण मित्रतालाई मानव सभ्यताको बलियो सामाजिक आधारका रूपमा लिइन्छ । आजको विश्व विभिन्न चुनौतीहरूसँग जुधिरहेको छ । युद्ध, द्वन्द्व, असहिष्णुता, जलवायु परिवर्तन, गरिबी, विभेद, डिजिटल दुरुपयोग तथा सामाजिक ध्रुवीकरण ले विश्व शान्ति र मानव सम्बन्धलाई चुनौती दिइरहेका छन् । यस्तो समयमा मित्रताको भावना अझ सशक्त बन्न आवश्यक छ । व्यक्ति–व्यक्ति बीचको विश्वासले परिवारलाई बलियो बनाउँछ, परिवारको एकताले समाजलाई सुदृढ बनाउँछ, समाजको सद् भावले राष्ट्रलाई समृद्धितर्फ डोर्याउँछ, र राष्ट्रहरूबीचको मित्रताले विश्वमा शान्ति, स्थिरता र साझा विकासको वातावरण सिर्जना गर्छ ।
नेपालले सधैँ शान्ति, सहअस्तित्व र असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गर्दै सबै राष्ट्रसँग सम्मान पूर्ण मित्रताको सम्बन्ध कायम राख्ने नीति अवलम्बन गरेको छ । यही भावनालाई अझ सुदृढ बनाउँदै आपसी सहयोग, समान सम्मान र साझा हितका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ बनाउनु आजको आवश्यकता पनि हो । मित्रता केवल कूटनीतिक सम्बन्धमा मात्र सीमित हुनु हुँदैन; नागरिक स्तरको आत्मीयता, सांस्कृतिक आदानप्रदान, शिक्षा, व्यापार, पर्यटन र मानवीय सहकार्यमार्फत पनि यो अझ सशक्त बन्नुपर्छ जस्तो लाग्दछ ।
हामीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मित्रताको वास्तविक मूल्यलाई पनि आत्मसात् गर्नुपर्छ । मित्रता केवल डिजिटल शुभकामना वा औपचारिक सम्बन्धमा सीमित नरही विश्वास, इमानदारी, सहयोग, जिम्मेवारी र पारस्परिक सम्मानमा आधारित हुनुपर्छ तब मात्र एक अर्काप्रतिको आत्मीय भावना निकट हुनसक्छ । यही मूल्यले समाजमा सद्भाव, सहिष्णुता र एकताको संस्कार विकास गर्छ ।
अन्तर्राष्ट्रिय मित्रता दिवसले हामी सबैलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ त्यो हो विभाजन होइन, एकता रोजौँ; घृणा होइन, प्रेम फैलाऔँ; द्वन्द्व होइन, संवादलाई प्राथमिकता दिऔं; र स्वार्थ होइन, सहकार्यको संस्कृतिलाई बलियो बनाऔँ । व्यक्ति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबीच विश्वास, सद्भाव, सहयोग र मानवताको सम्बन्ध अझ प्रगाढ बनोस् । यही भावना नै विश्व शान्ति, दिगो विकास र समृद्ध भविष्यको बलियो आधार बन्न सकोस भन्दै अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ।