• २०८३ जेष्ठ १६ गते शनिवार

एमालेले सुरु ग¥यो ‘पार्टी जागरण अभियान’, पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १६, काठमाडौं । नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको घोषणा गरेको छ । यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ ।

जेठ ४ बाट सुरु भएर ८,९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) २ जारी गर्दै यो अभियान घोषणा गरेका हुन् । गणतन्त्र दिवसका दिन जारी गरिएको अपानिमा नेताहरूको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।

केन्द्रीय सदस्यहरू मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ । एमालेले गरेको कार्य विभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ ।

उपाध्यक्ष र उपमहासचिवलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ । नौ मध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कोशिका मुख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ ।

अन्य सचिवहरू छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, यमलाल कँडेललाई कर्णाली इन्चार्ज, शेरधन राईलाई कोशी इन्चार्ज,राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ ।
खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ ।

‘जिल्ला इन्चार्ज तोकिएका नेताहरूलाई समेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ,’ एक सचिवले भने ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुई वटा पालिकाको जिम्मेवारी दिँदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ ।’

निर्वाचन पछि सुस्ताएका कमिटी र पार्टी गतिविधिलाई जागरण अभियानले गति दिने एमालेको अपेक्षा छ । कार्य विभाजन अनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य र प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस