असोज १३, काठमाडौं । रौतहट बारा संग जोडिएको भारतको बिहारस्थित मोतिहारी जिल्लामा प्रहरीले लामो समयदेखि फरार रहेका दुई जना ‘मोस्ट वान्टेड’ नक्सली ( माओबादी) लाई पक्राउ गरेको छ। मोतीहारी प्रहरी प्रमुख आईपी एस अफिसर एसपी स्वर्ण प्रभातको निर्देशन तथा पताही थाना क्षेत्रअन्तर्गत महमादा र चम्पापुर गाउँमा गोप्य सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महमादा गाउँका बबलु राम उर्फ मिठु राम र चम्पापुरका हरिशंकर राम उर्फ भगत रहेका छन्। प्रहरीका अनुसार बबलु राम पूर्वमा भएको मधुबन विस्फोट र चकिया रेलवे ट्र्याक विस्फोट लगायतका गम्भीर नक्सली घटनामा संलग्न रहेको आरोपमा जेल परिसकेका व्यक्ति हुन्। उनीविरुद्ध टीआर नम्बर १६६०/२६ को मुद्दा रहेको जनाइएको छ।
त्यस्तै, हरिशंकर राम पनि पूर्वमा नक्सली घटनामा जेल परिसकेका व्यक्ति रहेको र उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। उनीविरुद्ध टीआर नम्बर ३४६/१९ को मुद्दा रहेको बताइएको छ। प्रहरीका अनुसार पताही थानाका प्रमुख अभिषेक कुमार, अपर थानाध्यक्ष नीतू राज र प्रहरी निरीक्षक हेमशंकर यादवसहितको टोलीले संयुक्त रूपमा अपरेसन सञ्चालन गरी दुवैलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ। एसपी प्रभातको निर्देशन तथा प्रहरीको सक्रियताले सिंगो मोतीहारी जिल्लामा अपराधिमाझ खैला बेला मचेको छ।