• २०८३ असार १२ गते शुक्रवार

लागुऔषधको समस्या अनुमानभन्दा धेरै भयावह रहेछ : गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १२, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा लागुऔषध दुव्र्यसनको समस्या आफूले सोचेभन्दा धेरै गम्भीर बन्दै गएको भन्दै यसको समाधानका लागि राजनीतिक दल, सरकार, समुदाय र परिवार सबैले संयुक्त रूपमा काम गर्नुपर्ने बताएका छन्।

शुक्रबार आयोजित ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तरक्रिया’ कार्यक्रममा बोल्दै थापाले केही वर्षअघि हुलाकी राजमार्ग यात्रा गर्दा झापादेखि कञ्चनपुरसम्म लागुऔषधको समस्या भयावह अवस्थामा पुगेको प्रत्यक्ष रूपमा महसुस गरेको बताए।

उनले भने, ‘केही वर्षअघि हुलाकी राजमार्गको संवाद यात्रामा जाँदा काठमाडौंमा बसेर अनुमान गरेकोभन्दा लागुऔषध दुव्र्यसनको समस्या धेरै भयावह भइसकेको रहेछ भन्ने महसुस भयो। त्यसपछि मैले पार्टी र संसद्मा पनि यो विषय पटक–पटक उठाउने प्रयास गरेको छु।’

थापाले लागुऔषधको विषयलाई राजनीतिक बहसभन्दा बाहिर राख्न नहुने भन्दै कांग्रेसले ‘ग्रिन टेबल’ छलफलमार्फत नीति निर्माणसँग जोडिएका यस्ता विषयमा निरन्तर बहस सुरु गरेको बताए।

उनका अनुसार यो समस्या केवल प्रहरी कारबाहीबाट मात्र समाधान हुन नसक्ने भएकाले रोकथाम, पुनःस्थापना, कानुनी सुधार र जनचेतनालाई सँगसँगै अघि बढाउन आवश्यक छ।

उनले भने, ‘लागुऔषध प्रयोगकर्तालाई अपराधीका रूपमा मात्रै हेर्ने होइन, पुनःस्थापनामा जोड दिनुपर्छ। साथै प्रहरीको क्षमता अभिवृद्धि, सम्बन्धित निकायलाई सुदृढ बनाउने र आवश्यक कानुनी सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्छ।’

थापाले लामो समयदेखि संसद्मा अड्किएको लागुऔषध सम्बन्धी विधेयकलाई अघि बढाउन पनि दबाब सिर्जना गरिने बताए। संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहको भूमिकालाई स्पष्ट पार्ने कानुन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा उनले आफ्नो बाल्यकालका साथीको उदाहरण सुनाउँदै युवाको जीवनमा गलत निर्णयले दीर्घकालीन असर पार्ने उल्लेख गरे। विद्यालय र समुदायमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले युवालाई लागुऔषधको जोखिमबारे समयमै जानकारी गराउन आवश्यक रहेको बताए।

उनले भने, ‘विद्यालयमा इको क्लब जस्तै लागुऔषधविरुद्ध सचेतना फैलाउने समूह बनाउन सकिन्छ। के–के लागुऔषध हुन्छ भन्ने सिकाउनेभन्दा त्यसले जीवनमा पार्ने असरबारे बुझाउनु महत्वपूर्ण हुन्छ।’

थापाले नेपालमा लागुऔषधको समस्या राष्ट्रिय चुनौती बनेको उल्लेख गर्दै यसलाई कुनै एक परिवार वा संस्थाले मात्र समाधान गर्न नसक्ने बताए।

उनले भने, ‘यो एउटा परिवार वा समुदायको मात्रै समस्या होइन। सबै मिलेर काम गर्नुपर्छ। हामी आठ लाख सदस्य भएको राजनीतिक दल हौँ। यदि हाम्रा प्रत्येक सदस्यले समाजमा लागुऔषधविरुद्ध सचेतना फैलाउने भूमिका निर्वाह गरे भने यसले ठूलो परिवर्तन ल्याउन सक्छ।’

Sharing

प्रतिक्रिया दिनुहोस