मंसिर १, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन। मंगलबार सुन प्रतितोला १९ सय र चाँदी ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँमा झरेको हो। सोमबार सुन तोलाको दुई लाख ६९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

तिहारका लागि सुनचाँदी कारोबार बन्द गर्नुअघि कात्तिक २३ गते सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो। महासंघका अनुसार आज चाँदी प्रतितोला तीन हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सोही परिमाणको चाँदी तीन हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो।